अमेरिकामा हालै पुनःसंरचना गरिएको टिकटकको नयाँ युएस इकाइ सुरुवातदेखि नै समस्यामा परेको छ। सिफारिस एल्गोरिदम, भ्यु काउन्ट र लोड समयजस्ता प्राविधिक समस्याले प्रयोगकर्तालाई असर गरिरहेका बेला ठूलो संख्यामा प्रयोगकर्ताले टिकटक अनइन्स्टल गर्न थालेका छन्।
एनालिटिक्स कम्पनी सेन्सर टावरका अनुसार पछिल्ला तीन महिनाको तुलनामा अमेरिकामा टिकटक अनइन्स्टल हुने दर १५० प्रतिशतले वृद्धि भएको छ। यद्यपि, टिकटकको दैनिक सक्रिय प्रयोगकर्ता संख्या करिब २ प्रतिशतले बढेको र साप्ताहिक रूपमा भने स्थिर रहेको बताइएको छ।
टिकटकले एक डेटा सेन्टरमा भएको पावर आउटेजका कारण ‘बग’ देखिएको दाबी गर्दै भ्यु काउन्ट र एप लोडिङमा समस्या आएको जनाएको छ। तर यी समस्या कहिले समाधान हुन्छन् भन्नेबारे कम्पनीले स्पष्ट समयसीमा दिएको छैन।
यसैबीच, अपस्क्रोल्ड नामक स्वतन्त्र सामाजिक सञ्जाल एपले तीव्र लोकप्रियता हासिल गरेको छ। हाल यो अमेरिकी एप स्टोरमा नवौँ सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ भने सामाजिक सञ्जाल श्रेणीमा दोस्रो स्थानमा पुगेको छ । यूके र अष्ट्रेलियामा पनि यो एप शीर्ष पाँचमा पुगेको छ। अमेरिकामा यसको लोकप्रियता टिकटकमा देखिएको हालिया समस्यासँग प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ।
एप फिगर्सका अनुसार, टिकटकको युएस जोइन्ट भेन्चर औपचारिक भएको दिनदेखि शनिबारसम्म मात्र अपस्क्रोल्ड करिब ४१ हजार डाउनलोड भएका छ। गत जुनमा सार्वजनिक गरिएको यो एप हालसम्म एप्पल र गुगल प्ले स्टोरमार्फत करिब १ लाख ४० हजार पटक डाउनलोड भइसकेको छ। तर पछिल्लो हप्तासम्म दैनिक डाउनलोड संख्या ५०० भन्दा कम थियो। अचानक बढेको प्रयोगकर्ताको चापका कारण अपस्क्रोल्डले आफ्ना प्रयोगकर्तालाई केही समय धैर्य गर्न आग्रहसमेत गरेको छ।
अष्ट्रेलियाली डेभलपरद्वारा विकसित अपस्क्रोल्ड हेर्दा इन्स्टाग्रामजस्तै देखिन्छ। प्रयोगकर्ताले फोटो तथा छोटा भिडियो पोस्ट गर्न सक्छन्। एपको डिफल्ट फिड ‘फलोइङ’मा आधारित क्रोनोलोजिकलमा छ, यद्यपि यसले सिफारिस सामग्री पनि देखाउँछ।
कम्पनीका अनुसार यो एप संस्थापक इसाम हिजाजी तथा सीमित लगानीकर्ताहरूको निजी लगानीमा सञ्चालन भइरहेको छ। हाल एपमा कुनै विज्ञापन छैन, तर भविष्यमा विज्ञापन आउन सक्ने संकेत गरिएको छ।
यसअघि पनि टिकटकसम्बन्धी अनिश्चितताले अन्य एपलाई फाइदा पुगेको उदाहरण छ। गत वर्ष टिकटकमाथि सम्भावित प्रतिबन्धको समयमा चिनियाँ एप रेडनोट केही समयका लागि अमेरिकामा शीर्ष एप बनेको थियो। तर त्यो लोकप्रियता छोटो समयमै हराएको थियो, किनकि २०२५ को टिकटक ‘ब्यान’ केही घण्टामै अन्त्य भएको थियो।
तर अहिले टिकटकमा नयाँ स्वामित्व, प्राविधिक समस्या र प्रयोगकर्ताको असन्तुष्टिले नयाँ छोटो भिडियो प्लेटफर्मका लागि अवसर सिर्जना हुन सक्ने देखिएको छ। अपस्क्रोल्डले आफ्नो वेबसाइटमा लेखेको छ, ‘प्रयोगकर्ताहरूका आवाज दबाइने वा बेवास्ता गरिने डर बिना, प्रत्येक पोस्टलाई समान रूपमा देखिने अवसर दिनु नै हाम्रो लक्ष्य हो।’
आईसीटी समाचार