कीवर्डहरू -

‘वेब समिट कतार २०२६’ मा एकमात्र नेपाली कम्पनी टिङटिङ, विश्वमञ्चमा नेपालको प्रविधि क्षमता प्रदर्शन

‘वेब समिट कतार २०२६’ मा एकमात्र नेपाली कम्पनी टिङटिङ, विश्वमञ्चमा नेपालको प्रविधि क्षमता प्रदर्शन

विश्वकै सबैभन्दा प्रभावशाली प्रविधि सम्मेलनमध्ये एक मानिने ‘वेब समिट कतार २०२६’ मा सहभागी हुँदै नेपाली एआई कम्पनी टिङटिङ (TingTing) ले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कतारको दोहामा फेब्रुअरी ४ देखि चार दिनसम्म सञ्चालन भएको सम्मेलनमा टिङटिङ नेपालको एकमात्र प्रतिनिधित्व गर्ने स्टार्टअपको रूपमा सहभागी भएको हो।

वेब समिट विश्वभरका प्रविधि विज्ञ, लगानीकर्ता र इनोभेटरहरू भेला हुने सबैभन्दा ठूलो मञ्च हो, जहाँ सहभागी हुन हजारौँ विश्वव्यापी कम्पनीबीच कडा प्रतिस्पर्धा हुने गर्दछ। यस वर्षको सम्मेलनमा १२० देशका १,६०० भन्दा बढी स्टार्टअप सहभागी थिए। यस्तो प्रतिस्पर्धात्मक मञ्चमा टिङटिङको छनोट हुनु आफैंमा ठूलो उपलब्धि मानिएको छ।

नेपालमै विकसित आफ्नै ‘रिरी’ (RIRI) एआई इन्जिन र स्थानीय भाषालाई गहिराइमा बुझ्ने अत्याधुनिक प्रणालीका कारण टिङटिङले वेब समिटमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो।

“नेपालमा निर्मित, विश्वका लागि” भन्ने मूल मन्त्रसहित अघि बढिरहेको टिङटिङले अन्तर्राष्ट्रिय मञ्चमा पुग्नुअघि स्वदेशी बजारमै आफूलाई प्रमाणित गरिसकेको कम्पनी बताउँछ।

हाल टिङटिङको प्रविधि नेपालका ठूला बैंक, इन्टरनेट सेवा प्रदायक तथा सरकारी निकायहरूको सञ्चार प्रणालीमा प्रयोग भइरहेको छ। यो एआई समाधान अब अन्तर्राष्ट्रिय बजारमा विस्तार हुने चरणमा प्रवेश गरेको कम्पनीको भनाइ छ।

सम्मेलनको महत्वपूर्ण कार्यक्रममध्ये एक ‘स्टार्टअप शोकेस’ मा टिङटिङका तर्फबाट डाइरेक्टर अफ इन्जिनियरिङ एन्जेलिका साहले प्रस्तुति दिएकी थिइन। विश्वका प्रभावशाली लगानीकर्ता र प्रविधि विशेषज्ञहरूसामु दिइएको प्रस्तुतिमा उनले नेपालमा विकसित एआई प्रविधिले ठूला संस्थाहरूलाई आफ्ना ग्राहकका आवाज र आवश्यकताहरू कसरी गहिराइमा बुझ्न मद्दत गरिरहेको छ भन्ने विषय स्पष्ट पारेकी थिइन।

सम्मेलन अवधिभर टिङटिङको टोलीले विभिन्न अन्तर्राष्ट्रिय लगानीकर्ता तथा प्रविधि क्षेत्रका अग्रणी व्यक्तिहरूसँग अर्थपूर्ण संवाद र सम्भावित साझेदारीका लागि महत्वपूर्ण छलफलहरू समेत गरेको जनाएको छ।

टिङटिङको यो उपलब्धिलाई नेपाल अब प्रविधिको उपभोक्ता मात्र नभई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने उत्पादक राष्ट्रको रूपमा उदीयमान हुँदैछ भन्ने सन्देशका रूपमा हेरिएको छ। काठमाडौंबाट सुरु भएको यो प्रविधि यात्रा अब विश्वमञ्चमा पुगेको छ, जसले टिङटिङ अन्य अन्तर्राष्ट्रिय भाषाहरूमा समेत आफ्ना समाधान विस्तार गर्दै गएको संकेत गर्दछ।

यस सहभागिताले नेपाली स्टार्टअप इकोसिस्टमका लागि अन्तर्राष्ट्रिय लगानी, सहकार्य र विश्वव्यापी पहुँचका नयाँ ढोका खोल्ने विश्वास गरिएको छ। नेपालमै बनेको प्रविधिले पनि विश्वका ठूला समस्या समाधान गर्न सक्छ भन्ने कुरा टिङटिङले वेब समिट कतारमार्फत विश्वलाई देखाएको छ।