कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ प्रडक्ट

यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ प्रडक्ट

आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ प्रडक्ट छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १३ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । 

अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ प्रडक्ट छनोट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।

आफुलाई मन परेको उत्कष्ट ५ प्रडक्ट मध्येबाट एउटा प्रडक्टलाई हाम्रो पात्रो भित्र रहेको हाम्रो पे सेक्सनमा गएर भोटिङ गर्न सकिने छ ।

प्रडक्ट आइसिटी अवार्डमा कुनै पनि नेपाली कम्पनी, संस्था, समुह वा व्यक्तिले गत एक वर्षकोबीचमा विकास गरेको आइटी प्रडक्टले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । कस्ता छन् उत्कृष्ट ५ प्रडक्ट ? आउनुहोस् जानौं ।

एपीआई म्यानेजमेन्ट सिस्टम

एपीआई म्यानेजमेन्ट सिस्टम (एपीआईएमएस) बैंक र वित्तीय संस्था तथा अन्य उद्योगहरूका लागि तयार गरिएको एकीकृत प्लेटफर्म हो । वान पोइन्ट फाइनान्सियल सर्भिसेसले केही वर्षको रिसर्च र कामको अनुभवबाट सिकेर विकास गरेको यो युनिफाइड प्लेटफर्मले एपिआई क्रिएट गर्ने, म्यानेज गर्ने र एकीकृत गर्ने काम गर्दछ । जसले गर्दा, एउटै प्लेटफर्मबाट सम्पूर्ण एपीआई र डिजिटल सेवाहरूलाई व्यवस्थापन र मोनिटरिङ गर्न सकिन्छ ।

ई निर्माण

निर्माण व्यवसायहरूको प्रोजेक्ट साइट, काम र श्रमिक व्यवस्थापनलाई सहज बनाउने सफ्टवेयर एज अ सर्भिस (सास) मा आधारित प्रडक्ट हो, ई निर्माण । निर्माण उद्योगलाई स्मार्ट व्यवस्थापन गर्न डिजाइन गरिएको यस प्रडक्टले ग्राहक, ठेकेदार र विक्रेताहरूको लागि मोबाइल एप उपलब्ध गराउँछ, जसले गर्दा परियोजना व्यवस्थापन गर्न सजिलो हुन्छ । 

जी कवच

साइबर सुरक्षाको अनुगमन र रक्षा गर्न डिजाइन गरिएको नेपालकै पहिलो सुरक्षा सूचना र इभेन्ट म्यानेजमेन्ट प्रडक्ट हो, जीकवच । ग्रीन टिक नेपालले विकास गरेको जीकवचले २४ सै घण्टा रियलटाइम थ्रेट डिटेक्सन, इन्सिडेन्ट रेस्पोन्स र व्यवस्थापन गर्ने काम गर्दछ । 

खातापाना वेब

खातापाना वेब क्लाउडमा आधारित अकाउन्टिङ प्लेटफर्म हो । दक्षता र सरलता केन्द्रित खातापाना वेबले कुनै पनि झन्झट बिना वित्तीय व्यवस्थापनलाई सजिलो बनाउने गर्दछ । खातापाना चलाउन यति सजिलो छ कि यसका लागि कुनै पनि अकाउन्टिङ तालिम आवश्यक नै पर्देन् । 

कोइली

नेपालमा क्युआर प्रविधिको प्रयोग बढ्दै गएपछि विकास भएको नवीन प्रविधि हो, कोइली । यसले क्युआरबाट कारोबार गर्दा त्यसको जानकारी रियल टाइममा बोलेर दिने गर्दछ, जसले गर्दा म्यानुअल रूपमा प्रमाणित गर्नुपर्ने वा पैसा आएको वा गएको थाहा पाउन केही समय कुर्नु पर्ने बाध्यता कम भएको छ ।