काठमाडौं विश्वविद्यालय अन्तर्गत कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागको इन्फर्मेसन एन्ड ल्याङ्ग्वेज प्रोसेसिङ रिसर्च ल्याब (ILPRL) ले गुगल त्रिभाषिक मेशिन अनुवाद (Trilingual Machine Translation – TMT) प्रणाली परीक्षण तथा प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ ।
प्रणालीमा हाल चारवटा मोडेल समावेश गरिएका छन्, जसले नेपाली–तामाङ, तामाङ–नेपाली, अंग्रेजी–नेपाली, नेपाली–अंग्रेजी, अंग्रेजी–तामाङ तथा तामाङ–अंग्रेजी भाषाबीच अनुवाद गर्न सक्षम छन्।
आगामी एक महिनासम्म प्रयोगकर्ताबाट प्राप्त हुने प्रतिक्रिया, सुधार सुझाव तथा त्रुटि सच्याइका आधारमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने मोडेल छनोट गरी अन्तिम रूपमा प्रणाली सार्वजनिक गरिने छ ।
यो परियोजना गूगल एकेडेमीक रिसर्च अवार्ड २०२४ अन्तर्गत सोसाइटी सेन्टर्ड आर्टिफिसियल इन्टेलिजेन्स श्रेणीमा विश्वभरबाट छनोट भएका ३० परियोजनामध्ये एक हो ।
परियोजनाका प्रमुख अनुसन्धानकर्ता तथा ILPRL ल्याबका नेतृत्वकर्ता प्रा. डा. बलकृष्ण बलले प्रणालीको प्राविधिक चरण लगभग सम्पन्न भइसकेको र अब परीक्षण तथा सुझावको तेस्रो चरण सुरु भएको बताए ।
‘अन्तिम संस्करण सार्वजनिक भएपछि तामाङ समुदायलाई लक्षित गरी तालिम र कार्यशाला सञ्चालन गरिनेछ। साथै, करपस एनोटेसन टुल पनि सार्वजनिक गरिनेछ, जसले विश्वभरका तामाङ भाषीलाई अनुवादमा योगदान गर्न सक्षम बनाउनेछ,’ उनले भने।
यस परियोजनामा तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योञ्जन–तामाङको नेतृत्वमा रहेको तामाङ अनुवाद टोली तथा परियोजनाका सह–प्रमुख अनुसन्धानकर्ता प्रा. डा. बलराम प्रसाईंले भाषिक तथा अनुवाद सहयोग प्रदान गरेका छन्।
हाल प्रणालीलाई कृषि, स्वास्थ्य, शिक्षा, संस्कृति तथा समाज र सामान्य सञ्चार गरी पाँच क्षेत्रका करिब २३ हजार समानान्तर वाक्य (parallel sentences) प्रयोग गरी तालिम दिइएको छ।
अन्तिम संस्करणमा यो संख्या एक लाखसम्म पुर्याउने लक्ष्य रहेको छ। ‘तामाङ भाषालाई आधिकारिक रूपमा गूगल ट्रान्सलेटमा सूचीकृत गराउने पहल चाँडै सुरु गरिनेछ, जसले भाषाको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न ठूलो योगदान पुर्याउनेछ,’ प्रा. डा. बलले बताए।
कार्यक्रममा बोल्दै प्रा. डा. बलराम प्रसाईं तथा वरिष्ठ तामाङ भाषाविद् अमृत योञ्जन–तामाङले यस प्रणालीले ई–शासन, सरकारी सेवा प्रवाह तथा नागरिक–सरकारबीचको सञ्चारमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता इन्जिनियरिङ संकायका डीन प्रा. डा. मनीष पोखरेलले गरेका थिए।
आईसीटी समाचार