नेपालको सबैभन्दा ठूलो अनलाइन ट्राभल मार्केटप्लेस ट्रिप टर्बो र अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडबीच रणनीतिक साझेदारी भएको छ। यस साझेदारीसँगै अब नबिल बैंकका ग्राहकहरूले बैंकको मोबाइल एप एनबैंकमार्फत सिधै बस टिकट, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट र विभिन्न यात्रा गतिविधिहरू बुक गर्न सक्नेछन्।
यो साझेदारी सम्झौतामा नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र ट्रिप टर्बोका ग्रोथ तथा मार्केटिङ लिड विमल राज पौडेलले हस्ताक्षर गरेका हुन्। यस सहकार्यले बैंकिङ र ट्राभल सेवालाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै प्रयोगकर्तालाई सहज, छिटो र सुरक्षित अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।
अब nBank एप प्रयोगकर्ताले Home > More > Marketplace सेक्शनमा गई ट्रिप टर्बो चयन गर्न सक्नेछन्। त्यसपछि उनीहरू ट्रिप टर्बोको बुकिङ प्लेटफर्ममा रिडाइरेक्ट भई आफूलाई आवश्यक यात्रा सेवा खोजी, छनोट र बुक गर्न सक्नेछन्। भुक्तानी प्रक्रिया पनि एनबैंक एपमै सुरक्षित रूपमा सम्पन्न गर्न सकिनेछ, जसले विभिन्न एपहरूबीच सर्नुपर्ने झन्झट हटाएको छ।
ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले भने, “प्रविधिमार्फत यात्रा सरल बनाउने हाम्रो लक्ष्य हो। नबिल बैंकसँगको यो साझेदारीले एनबैंकएपमार्फत सुरक्षित र सहज रूपमा यात्रा योजना र बुकिङ गर्ने अवसर प्रदान गर्दै हाम्रो दृष्टिकोणलाई अझ विस्तार गरेको छ।”
नबिल बैंकका आदर्श बजगाईंले एनबैंक एपको मार्केटप्लेसमा नयाँ साझेदार थपिनु सकारात्मक रहेको उल्लेख गर्दै यो साझेदारीले हाम्रो ग्राहकलाई एउटै एपभित्रै यात्रा योजना बनाउन र भुक्तानी गर्न थप सजिलो बनाएको बताए । एनबैंकलाई दैनिक आवश्यकताका लागि एकीकृत प्लेटफर्मका रूपमा विकास गर्ने उनको भनाइ छ ।
यो सेवा हाल सबै एनबैंक प्रयोगकर्ताका लागि सञ्चालनमा आइसकेको छ। यसमार्फत प्रयोगकर्ताले ट्रिप टर्बोले उपलब्ध गराउने सम्पूर्ण यात्रा सेवाहरू सजिलै खोजी र बुक गर्न सक्नेछन्।
आईसीटी समाचार