काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी प्रयोजनमा प्रयोग हुँदै आएको ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) शब्दलाई परिवर्तन गरेर ‘सुपर इन्टेलिजेन्स’ (एसआई) प्रयोग गर्ने कार्यकारी आदेश जारी गरेका छन् ।
ट्रम्पले मंगलबार कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अमेरिकी संघीय सरकारका निकायलाई आधिकारिक पत्राचार, सार्वजनिक सञ्चार, नीतिगत तथा गैरकानुनी दस्तावेजमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ वा ‘एआई’ को सट्टा ‘सुपर इन्टेलिजेन्स’ र ‘एसआई’ प्रयोग गर्न निर्देशन दिएका हुन् ।
ह्वाइट हाउसका अनुसार यो परिवर्तन तीव्र रूपमा विकसित भइरहेको प्रविधिको क्षमता र सम्भावनालाई प्रतिबिम्बित गर्ने उद्देश्यले गरिएको हो । आदेशले संघीय सरकारमा प्रयोग हुने आधिकारिक भाषामा नयाँ शब्दावली लागू गर्ने व्यवस्था गरेको छ ।
ट्रम्पले यसअघि पनि ‘आर्टिफिसियल’ शब्दले प्रविधिलाई वास्तविक नभएको जस्तो अर्थ दिने भन्दै ‘सुपर इन्टेलिजेन्स’ शब्द उपयुक्त हुने बताएका थिए । उनले सेप्टेम्बर २९ मा ह्वाइट हाउसमा प्रविधि क्षेत्रका प्रमुखहरूसँगको भेटपछि पनि एआईको नाम आधिकारिक रूपमा परिवर्तन गरिएको बताएका थिए ।
यसअघि सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा पनि ट्रम्पले अमेरिकी सरकारी दस्तावेजमा एआईको सट्टा ‘सुपर इन्टेलिजेन्स’ प्रयोग गर्ने घोषणा गरेका थिए । त्यसपछि अमेरिकी विदेश मन्त्रालयका केही निकायले पनि आफ्ना सञ्चारमा नयाँ शब्द प्रयोग गर्न थालेका थिए ।
ट्रम्पको नयाँ आदेशले भने यो शब्दावलीलाई संघीय कार्यकारी शाखामा औपचारिक रूपमा लागू गर्ने प्रक्रिया अघि बढाएको छ । आदेशमा विद्यमान कानुनी प्रावधानमा रहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्बन्धी परिभाषालाई नयाँ ‘सुपर इन्टेलिजेन्स’ शब्दले कसरी प्रतिस्थापन वा विस्तार गर्न सकिन्छ भन्ने बारे प्रस्ताव तयार पार्न पनि भनिएको छ ।
नाम परिवर्तनको चर्चा अघि बढाउन ट्रम्पले सामाजिक सञ्जालमार्फत एआईका लागि वैकल्पिक नामबारे सर्वेक्षण समेत गरेका थिए । त्यस क्रममा ‘एक्स्ट्रिम इन्टेलिजेन्स’ र ‘सुपेरियर इन्टेलिजेन्स’ लगायतका विकल्प सार्वजनिक गरिएको थियो ।
यद्यपि, यो परिवर्तन अमेरिकी संघीय सरकारको आधिकारिक शब्दावलीमा केन्द्रित छ । यसले विश्वभर एआईका लागि प्रयोग हुँदै आएको प्रचलित वैज्ञानिक तथा प्राविधिक शब्दावली तत्काल परिवर्तन गरेको भने होइन ।
आईसीटी समाचार