कीवर्डहरू -

टीएसएमसीले सार्वजनिक गर्‍यो १.४ न्यानोमिटर चीप प्रविधि

टीएसएमसीले सार्वजनिक गर्‍यो १.४ न्यानोमिटर चीप प्रविधि

ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले आफ्नो नयाँ १.४ न्यानोमिटर (एनएम) चीप (प्रोसेसर) प्रविधि सार्वजनिक गरेको छ । 

यो सन् २०२८ जुनदेखि उत्पादनमा प्रवेश गर्ने अनुमान गरिएको छ । टीएसएमसीका अनुसार, यो प्रविधिले २ न्यानोमिटर प्रोसेसरहरूको तुलनामा १५ प्रतिशत बढी प्रदर्शन सुधार र ३० प्रतिशत कम बिजुली खपत गर्नेछ । 

१.४ एनएम प्रविधि सम्भवतः एप्पल, इन्टेल र एएमडीका प्रोसेसरहरूमा प्रयोग हुनेछ । यस प्रदर्शन सुधारको श्रेय २ न्यानोमिटर प्रविधिको तुलनामा २० प्रतिशत बढी लजिक डेन्सिटी सुधारलाई जान्छ । 

कम्पनीको २ एनएम प्रोसेसले ३ एनएम चिप्सहरूमा जस्तै सुधार ल्याएको थियो, त्यसैले १.४nm चिप्स हालका चिप्सको तुलनामा करिब ३० प्रतिशत छिटो र ६० प्रतिशत बढी ऊर्जा-इफिसियन्सी हुन सक्ने छ ।

हाल एप्पलका चिप्सहरू टीएसएमसीको ३ एनएम प्रोसेसमा आधारित छन्, र आउने आईफोन १७ (जसमा एउटा अल्ट्रा-स्लिम भर्सन हुने बताइएको छ) पनि तेस्रो पुस्ताको एनथ्रीपी नोडमा आधारित हुने अपेक्षा गरिएको छ । त्यसैले, म्याक रूमर्सका अनुसार, एप्पलले अर्को दुई वर्षसम्म टीएसएमसीको २ एनएम प्रविधिमा नजाने सम्भावना छ ।

यसको अर्थ, एप्पलले १.४ एनएम प्रविधि प्रयोग गर्ने मोबाइल वा डेस्कटप उपकरणहरू आउन अझै तीन वा सोभन्दा बढी पुस्ता लाग्न सक्छ र एएमडी वा अन्य प्रोसेसरहरूमा पनि त्यति नै समय लाग्न सक्छ ।