काठमाडौं । टर्कीले १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने योजना अघि बढाएको छ । टर्कीको संसदले यस सम्बन्धी विधेयक पारित गरिसकेको छ, जसअनुसार नाबालिगहरूको अनलाइन सुरक्षामा कडाइ गरिनेछ ।
नयाँ कानुन अनुसार सामाजिक सञ्जाल प्लेटफर्महरूले प्रयोगकर्ताको उमेर प्रमाणीकरण अनिवार्य गर्नुपर्नेछ । साथै, अभिभावकीय नियन्त्रणका उपकरणहरू उपलब्ध गराउनु पर्ने र हानिकारक सामाग्री छिटो हटाउने व्यवस्था गर्नुपर्ने प्रावधान राखिएको छ । सरकारले यस कदमलाई बालबालिकाको मानसिक स्वास्थ्य र अनलाइन सुरक्षाका लागि आवश्यक रहेको जनाएको छ ।
Associated Press news agency का अनुसार टर्कीमा भएका दुई घातक विद्यालय गोलीकाण्डपछि यो विधेयक पारित गरिएको हो । ती घटनापछि सामाजिक सञ्जालमा सम्बन्धित भिडियोहरू शेयर गरेको आरोपमा प्रहरीले १६२ जनालाई पक्राउ गरेको थियो ।
अब उक्त विधेयकलाई कानुनमा परिणत गर्न Recep Tayyip Erdogan सँग १५ दिनको समय रहेको छ । उनले स्वीकृति दिएपछि यो व्यवस्था कार्यान्वयनमा आउनेछ । नयाँ नियमअनुसार ठूला सामाजिक सञ्जाल प्लेटफर्म तथा अनलाइन गेमिङ कम्पनीहरूले पनि नाबालिग प्रयोगकर्तामाथि कडा नियन्त्रण लागू गर्नुपर्नेछ । नियम उल्लंघन गरेमा इन्टरनेट ब्यान्डविड्थ घटाउनेदेखि आर्थिक जरिवानासम्मको सजाय हुने व्यवस्था गरिएको छ ।
टर्की र सामाजिक सञ्जाल कम्पनीबीचको विवाद भने नयाँ होइन । सन् २०२४ मा Instagram लाई हमास सम्बन्धी सामाग्री विवादका कारण अस्थायी रूपमा प्रतिबन्ध लगाइएको थियो, जुन करिब एक सातापछि पुन: सञ्चालनमा आएको थियो ।
१५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने टर्कीको कदम विश्वव्यापी प्रवृत्तिको हिस्सा मानिएको छ । ग्रीस र अस्ट्रियाले पनि यस्ता नियम लागू गरिसकेका छन् भने अष्ट्रेलियाले गत वर्ष १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने पहिलो देशको रूपमा उदाहरण प्रस्तुत गरेको थियो ।
त्यसैगरी बेलायतले पनि यस विषयमा कडा नियम ल्याउने बारे विचार गरिरहेको विभिन्न अन्तराष्ट्रिय संचारमाध्यममा खबर छ ।
आईसीटी समाचार