ट्विटरका सह–संस्थापक ज्याक डोर्सीले ‘बिटच्याट मेष’ नामक एउटा नयाँ ब्लुटुथमा आधारित म्यासेजिङ् एप सार्वजनिक गरेका छन् । हाललाई यो एप आइफोन प्रयोगकर्ताहरूका लागि उपलब्ध छ। यसलाई चलाउन न इन्टरनेट चाहिन्छ, न फोन नम्बर वा इमेल एड्रेस नै ।
बिटच्याट मेष ब्लुटुथ मेष नेटवर्कमार्फत काम गर्छ, जहाँ प्रयोगकर्ताहरू आपसमा सिधै जोडिन सक्छन्। यदि दुई जना प्रयोगकर्ता ब्लुटुथ रेंज बाहिर परे भने पनि नेटवर्कमा रहेका अन्य प्रयोगकर्ताहरूको माध्यमबाट म्यासेज रिलि हुन्छ।
यस एपमा एन्ड–टु–एन्ड इन्क्रिप्सन (ई२ईई) सुविधा छ, जुन नोइज प्रोटोकल फ्रेमवर्कमा आधारित छ। प्रयोगकर्ताहरूले एक–अर्काको फिङ्गरप्रिन्ट तुलना गरेर पहिचान प्रमाणित गर्न सक्छन् र “भेरिफाइड” मार्क गर्न सक्छन्।
यो एप कुनै सर्भर, एकाउन्ट वा डेटा कलेक्सन बिना नै चल्छ, जसले प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्छ। बिटच्याट मेष को इन्टरफेस निकै सरल छ र पुरानै शैलीको आईआरसी जस्तै देखिन्छ।
प्रयोगकर्ताहरूले कसैलाई फेभरिट बनाउन सक्छन्, मेंसन गर्न सक्छन् वा अनिच्छित प्रयोगकर्तालाई ब्लक गर्न सक्छन्।