एरिजोनाको टोल्सनमा अमेजनका दुई डेलिभरी ड्रोनहरू क्रेनसँग ठोक्किँदा दुर्घटना भएको छ। यो घटना अमेजनको फुलफिलमेन्ट सेन्टरबाट करिब दुई माइल टाढा भएको हो।
दुर्घटनामा अमेजनको प्राइम एयर सेवामा प्रयोग हुने दुई ड्रोन संलग्न रहेको र कुनै मानवीय चोटपटक नभएको पुष्टि गरिएको छ। घटनापछि प्रहरीलाई बोलाइएको थियो तर टोल्सन प्रहरीका सार्जेन्ट एरिक मेन्डेजले स्थानीय रेडियो स्टेशन केटीएआरलाई बताएका अनुसार यो घटनाको अनुसन्धान संघीय विमानन प्रशासन (FAA) ले गर्नेछ।
अमेजनका प्रतिनिधि टेरेन्स क्लार्कले टोल्सन, एरिजोनामा दुई प्राइम एयर ड्रोन संलग्न भएको घटनाबारे सम्बन्धित निकायहरूसँग मिलेर अनुसन्धान गरिरहेका बताएका छन् ।
अमेजनले गत वर्षदेखि फिनिक्स क्षेत्रमा ड्रोनमार्फत डेलिभरी सेवा सुरु गरेको हो। यो सेवा दिउँसो मात्र सञ्चालन हुन्छ र मौसम अनुकूल भएमा मात्र ड्रोन उडाइन्छ। यसै वर्ष मे महिनामा कम्पनीले थप सामान ड्रोनमार्फत डेलिभरी गर्न एफएएबाट अनुमति प्राप्त गरेको थियो।