कीवर्डहरू -

ग्रामिण क्षेत्रमा एकसाथ टेलिकमको टुजी र फोरजी सेवा

ग्रामिण क्षेत्रमा एकसाथ टेलिकमको टुजी र फोरजी सेवा

थम्मन थापा

नेपाल टेलिकमले बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा, देउरालीमा नयाँ टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याएको छ ।

टावर सञ्चालनमा आएपछि नागरिकलाई भ्वाईस सँगै मोवाईल डेटा ईन्टरनेट सेवा उपलब्ध गराउने उद्येश्यले टुजी मार्फत भ्वाईस र चौंथो पुस्ताको फोरजी नेटवर्क मार्फत उच्च गुणस्तरको भ्वाईस सँगै तीव्र गतिको ईन्टरनेट सेवा उपलब्ध गराईएको नेपाल टेलिकमले जनाएको छ ।

जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार गर्न नेपाल टेलिकम बागलुङले आफ्नो सेवा विस्तारको कार्यलाई निरन्तरता दिंदै आएको जनाएको छ । टेलिकमले जिल्लाका १० वटै स्थानीय तहमा मोवाईल सेवा सँगै विस्तार गरिरहेको छ ।

टावर सञ्चालनमा आएपछि सदरमुकामको नजिक भएपनि भौगोलिक विकटता रहेको काठेखोला गाउँपालिका ३ धम्जा देउरालीमा सञ्चार सेवामा सहज भएको छ । धम्जा देउराली र तंग्रामको तल्लो भागमा फोन तथा इन्टरनेट प्रयोग गर्न समस्या भएको गुनासो आएपछि टावर विस्तार गरि सेवा सञ्चालन गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

टेलिकमले हाल जिल्लाका ६५ स्थानमा टावर निर्माण गरेर सेवा सञ्चालन गरिरहेको र अब गुणस्तर नभएको तथा सेवा नपुगेका क्षेत्रको पहिचान गरि थप गृहकार्य गरिने शर्माले बताए ।

त्यस्तै बडिगाड गाउँपालिकाको तुमडाँडा र निसीखोला गाउँपालिकाको गुममा पनि टावर निर्माण भईरहेको र छिट्टै सेवा सञ्चालनमा ल्याउने तयारी भईरहेको शर्माले जनाकारी दिए ।

मोवाईल प्रयोगकर्ता नागरिकको गुनासो अनुसार सेवा विस्तार सँगै गुणस्तर अभिवृद्विको काम भईरहेको र अहिले कतिपय स्थानबाट अस्थायी संरचना मार्फत मोवाईल सेवा उपलब्ध गराईएको टेलिकमले जनाएको छ ।

सञ्चार सम्पर्कको सहज पहुँच नभएको धम्जा देउरालीमा एकसाथ टुजी र फोरजी मोवाईल सेवा सञ्चालन भएसँगै स्थानियलाई सञ्चारमा सहज भएको काठेखोला गाउँपालिका ३ का वडा अध्यक्ष कुल बहादुर विकले बताए ।

यसभन्दा पहिले गाउँमा मोवाईल सेवा नहुँदा नागरिकलाई सामान्य कुराकानी गर्न तथा ईन्टरनेट चलाउन निकै समस्या हुँदै आएको थियो वडा अध्यक्ष विकले जानकारी दिए । जसका कारण वडा कार्यालय र स्वास्थ्य चौकीमा समेत आउने सेवाग्राहीले समस्या झेल्दै आईरहेका थिए । 

टेलिकमले मोवाईल सेवा सञ्चालन गरेपछि धम्जाको देउराली र तंग्रामको तल्लो भागका नागरिक प्रत्यक्ष लाभान्वित भएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।

मोवाईल सेवाले नागरिकको दैनिकी सहज हुनुका साथै आर्थिक, शैक्षिक, जनस्वास्थ्य तथा सामाजिक जीवनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने गाउँपालिका अध्यक्ष थापाको भनाई छ ।