कीवर्डहरू -

उज्यालो नेपाल पार्टीको आईटी एजेन्डा: १० अर्बको स्टार्टअप कोषदेखि मेगा डाटा सेन्टरसम्म

उज्यालो नेपाल पार्टीको आईटी एजेन्डा: १० अर्बको स्टार्टअप कोषदेखि मेगा डाटा सेन्टरसम्म

उज्यालो नेपाल पार्टीले आफ्नो घोषणापत्रमा नेपाललाई क्षेत्रीय आईटी हब बनाउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। स्टार्टअप प्रवर्द्धन, डिजिटल सीप विकास, साइबर सुरक्षा र स्मार्ट पूर्वाधार निर्माणलाई केन्द्रमा राख्दै पार्टीले प्रविधिमैत्री विकास मोडेल अघि सारेको हो।

नेपाललाई ‘आईटी हब’ बनाउने लक्ष्यसहित १० अर्ब रुपैयाँको स्टार्टअप कोष स्थापना गर्ने घोषणा गरिएको छ। सातै प्रदेशमा आईटी पार्क स्थापना गर्न कर छुट तथा नीतिगत सहजीकरण प्रदान गरिने जनाइएको छ। यसमार्फत स्टार्टअप इकोसिस्टम विस्तार, नवप्रवर्तन प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

युवालाई उद्यमशील र आत्मनिर्भर बनाउन ५ लाख रुपैयाँसम्मको स्टार्टअप अनुदान उपलब्ध गराउने प्रस्ताव पनि घोषणापत्रमा समावेश गरिएको छ।

पाँच वर्षभित्र ६ लाख युवालाई कोडिङ, एआई (कृत्रिम बुद्धिमत्ता), साइबर सेक्युरिटी लगायत उन्नत आईटी सीप प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। डिजिटल सीप विकासलाई उच्च मूल्यका रोजगारी सिर्जना र प्रविधि निर्यात क्षमतासँग जोडिएको नीति रूपमा प्रस्तुत गरिएको छ।

आईटी पूर्वाधार सुदृढीकरणका लागि तथ्यांक संरक्षण ऐन, साइबर सुरक्षा ऐन तथा एआई नीति निर्माण गरिने पार्टीले जनाएको छ। ब्लकचेन प्रविधिको सुरक्षित प्रयोगमार्फत सरकारी प्रणालीमा पारदर्शिता बढाउने र भ्रष्टाचार नियन्त्रण गर्ने योजना अघि सारिएको छ। साथै, देशभित्रै मेगा डाटा सेन्टर स्थापना गरिने प्रतिबद्धता पनि गरिएको छ।

भिजन २०४० अन्तर्गत १३ वटा शहरलाई पूर्ण स्मार्ट सिटीमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ। इन्टरनेट अफ थिंग्स (IoT), एआई आधारित ट्राफिक व्यवस्थापन तथा रियल–टाइम डाटा मोनिटरिङ जस्ता प्रविधिको प्रयोगमार्फत डिजिटल शहरी शासन लागू गरिने जनाइएको छ।

‘स्मार्ट स्कूल अभियान’ अन्तर्गत प्रत्येक विद्यालयमा डिजिटल कक्षा, इन्टरनेट र डिजिटल पुस्तकालयको व्यवस्था गरिनेछ। 

त्यस्तै, जनप्रतिनिधि तथा सार्वजनिक पदाधिकारीले वार्षिक रूपमा अनलाइन सम्पत्ति घोषणा गर्नुपर्ने प्रणाली लागू गरी डिजिटल पारदर्शिता सुनिश्चित गर्ने प्रस्ताव पनि घोषणापत्रमा उल्लेख गरिएको छ।