काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट उत्पन्न हुन सक्ने जैविक तथा सुरक्षा जोखिम न्यूनीकरण गर्न बेलायत सरकारले करिब ६० करोड पाउन्ड (८० करोड अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ ।
शनिबार सार्वजनिक योजनाअनुसार उक्त रकमको ठूलो हिस्सा जैविक सुरक्षासम्बन्धी पहलमा खर्च गरिनेछ । एआईको प्रयोगमार्फत जैविक जोखिम पहिचान गर्ने प्रयोगशाला स्थापना गर्न १० करोड पाउन्ड तथा रोगजनक जीवाणु र भाइरसबाट उत्पन्न जोखिम नियन्त्रणका उपाय विकास गर्न ६ करोड ५० लाख पाउन्ड छुट्याइएको छ ।
बेलायतका एआई मन्त्री कनिष्का नारायणले एआई बायोसिक्युरिटी ल्याबलाई विश्वस्तरीय संस्था बनाउने लक्ष्य रहेको बताएका छन् । उनका अनुसार यस पहलले उदीयमान जैविक जोखिमबाट जनतालाई सुरक्षित राख्न विश्वका अग्रणी वैज्ञानिकहरूको विशेषज्ञता एकै ठाउँमा ल्याउनेछ ।
टेकक्रञ्चका अनुसार प्रविधि कम्पनी ओपनएआई र एन्थ्रोपिकले जैविक सुरक्षा पहलमा एआई मोडल प्रयोग गर्न २० करोड पाउन्डसम्मको क्रेडिट उपलब्ध गराउनेछन् । यसमा गुगल डीपमाइन्ड र बेलायतमा आधारित एआई तथा जीवन विज्ञानसम्बन्धी स्टार्टअप बेसक्याम्प रिसर्चले पनि सहयोग गर्नेछन् ।
बेलायत सरकारले विद्यमान एआई सुरक्षा संस्थानको क्षमता विस्तारका लागि थप १२ करोड पाउन्ड विनियोजन गर्ने भएको छ । त्यसैगरी, महत्त्वपूर्ण पूर्वाधार तथा अर्थतन्त्रको साइबर सुरक्षा सुदृढ गर्न राष्ट्रिय साइबर शिल्ड र नेसनल एक्सपोजर एन्ड रियल टाइम भल्नरेबिलिटी सेन्टरसम्बन्धी परियोजनामा १३ करोड पाउन्ड खर्च गरिनेछ ।
रोबोटिक्स, स्वचालित प्रणाली र उत्पादन क्षेत्रमा एआईको प्रयोग गर्ने बेलायती कम्पनीलाई सहयोग पुर्याउन ६ करोड पाउन्डको कोष स्थापना गरिनेछ । एआई अनुसन्धान तथा खरिद सम्झौताका लागि थप ६ करोड पाउन्ड र एआईले अर्थतन्त्रमा पार्ने प्रभावबारे अध्ययन गर्न २ करोड ३० लाख पाउन्ड छुट्याइएको छ ।
योजनाअन्तर्गत चिप डिजाइनसम्बन्धी एकेडेमी स्थापना गर्न १ करोड ८० लाख पाउन्ड, सार्वजनिक नीतिका समस्या समाधान गर्ने एआई प्रणाली विकासका लागि पुरस्कार प्रदान गर्न १ करोड ५० लाख पाउन्ड र स्थानीयस्तरमा एआईसम्बन्धी कार्यक्रम अघि बढाउन क्षेत्रीय मेयरहरूलाई ३ करोड पाउन्ड उपलब्ध गराइनेछ ।
यसैबीच, बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले म्यानचेस्टरमा आफ्नो क्षमता विस्तार गर्न थप आर्थिक सहयोग पाउने भएको छ । यद्यपि, यसका लागि छुट्याइने रकम भने सरकारले सार्वजनिक गरेको छैन ।
बेलायतको यो योजना एआई प्रविधिको विकाससँगै बढ्न सक्ने जैविक तथा साइबर जोखिमको पहिचान, रोकथाम र नियन्त्रण गर्ने क्षमतामा लगानी केन्द्रित गर्ने उद्देश्यले ल्याइएको हो ।
आईसीटी समाचार