कीवर्डहरू -

एमालेको घोषणापत्र: १८ देखि २८ वर्षका युवालाई मासिक १० जीबी निःशुल्क डाटा, नागरिक एपलाई सुपर एप बनाइने

एमालेको घोषणापत्र: १८ देखि २८ वर्षका युवालाई मासिक १० जीबी निःशुल्क डाटा, नागरिक एपलाई सुपर एप बनाइने

नेकपा एमालेले १८–२८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म प्रत्येक महिनामा १० जीबी निःशुल्क इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको छ।

चुनावी घोषणापत्रमा पार्टीले सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राख्दै सुशासन, डिजिटल सेवा, युवा उद्यमशीलता र राष्ट्रिय सुरक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउने योजना सार्वजनिक गरेको छ।

पार्टीले स्टार्टअप र इनोभेसन हब विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा आईटी/टेक उत्पादनहरूको अनुसन्धान, उत्पादन, विकास र निर्यात प्रवर्द्धन गर्न युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने योजना पनि प्रस्तुत गरेको छ। यसले करिब १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

एमालेले नागरिक एपलाई ‘सुपर एप’ का रूपमा विकास गरी सबै मन्त्रालय र सरकारी सेवाहरू एकीकृत गर्ने, डेटा सेन्टर, राष्ट्रिय परिचय-पत्र प्रणाली, एआई केन्द्रलगायतका डिजिटल पूर्वाधार इकाइहरूको स्थापना र सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। साथै, एआई तथा हाइपरस्केल डेटा सेन्टर पूर्वाधारमा विदेशी प्रत्यक्ष लगानी आकर्षित गर्ने र वातावरणीय दिगोपन सुनिश्चित गर्ने रणनीति अघि बढाउने योजना रहेको छ।

पार्टीले नेपालमा आफ्नै भू-उपग्रह स्थापना गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत दूरसञ्चार सेवा र डिजिटल कनेक्टिभिटी सुनिश्चित गर्ने, सूचना प्रविधि क्षेत्रका अवसरको उपयोग गर्दै चुनौती सामना गर्नसक्ने संरचना निर्माण गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ।

घोषणापत्रमा गलत सूचना, झुटा समाचार, डीपफेक र अल्गोरिदमिक पूर्वाग्रह मार्फत् समाजलाई विभाजित गर्ने प्रयास र सार्वजनिक सेवा, वित्तीय क्षेत्र तथा राष्ट्रिय सुरक्षामा खलल उत्पन्न हुने अवस्थाको अन्त्य गर्ने योजना उल्लेख गरिएको छ।

पार्टीले कृत्रिम बुद्धिमत्ता (एआइ) र जेनेरेटिभ एआईमा आधारित नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राख्दै सोभरन लार्ज ल्याङ्वेज मोडल विकास र प्रयोगमार्फत् छोटो समयमै ठूलो प्रभाव पार्नसक्ने क्षेत्रमा एआई प्रविधि लागू गर्ने योजना समेत सार्वजनिक गरेको छ।

यसैगरी, नेकपा एमालेले आगामी कार्ययोजनामा सूचना प्रविधि क्षेत्रमा १ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।