कीवर्डहरू -

विद्यार्थीमा उद्यमशील सोच विकास गर्न ‘स्टार्टअप तथा उद्यमशीलता बुटक्याम्प’

विद्यार्थीमा उद्यमशील सोच विकास गर्न ‘स्टार्टअप तथा उद्यमशीलता बुटक्याम्प’

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको आयोजनामा सञ्चालित चारदिने ‘स्टार्टअप तथा उद्यमशीलता बुटक्याम्प’ सम्पन्न भएको छ ।

संरक्षणविद् तथा लेखक कर्ण शाक्यको प्रमुख आतिथ्यमा उद्घाटन भएको बुटक्याम्पको समापन व्यवस्थापन संकायका डीन प्रा.डा. महानन्द चालिसेको प्रमुख आतिथ्यमा भएको हो ।

स्ववियु सदस्य कुलबहादुर बुढा क्षेत्रीको संयोजकत्वमा सञ्चालन भएको बुटक्याम्पले विद्यार्थीमा उद्यमशील सोच, नवप्रवर्तन, नेतृत्व क्षमता तथा व्यावहारिक व्यावसायिक सीप विकासमा सहयोग पुर्‍याएको आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न प्रशिक्षक तथा अतिथिले आफ्ना अनुभव र ज्ञान सहभागी विद्यार्थीसँग बाँडेका थिए । यस्तै, ‘आइडिया पिचिङ’ सत्रमार्फत सहभागी विद्यार्थीलाई आफ्ना व्यावसायिक तथा सिर्जनात्मक अवधारणा प्रस्तुत गर्न र त्यसलाई थप परिष्कृत गर्न मार्गदर्शन गरिएको थियो ।

null

स्ववियु अध्यक्ष दीपक राज जोशीले विश्वविद्यालय, उद्योग र सरकारबीच ‘ट्रिपल हेलिक्स कोलाबोरेसन’ आवश्यक रहेको बताए । उनले विश्वविद्यालयले समाज र बजारको आवश्यकतालाई अध्ययन गर्दै उद्योगले खोजिरहेको जनशक्ति तथा नवीन समाधानसँग विद्यार्थीका सिर्जनशील विचार, अनुसन्धान र पाठ्यक्रमलाई जोड्नुपर्ने धारणा व्यक्त गरे ।

‘विश्वविद्यालयले समाज र बजारलाई अध्ययन गर्नुपर्छ । बजारमा के आवश्यक छ, समाजका समस्या के हुन् र उद्योगले कस्तो जनशक्ति तथा नवीन समाधान खोजिरहेको छ भन्ने पहिचान गरेर विश्वविद्यालयले आफ्ना अनुसन्धान, पाठ्यक्रम र विद्यार्थीका सिर्जनशील विचारलाई त्यससँग जोड्नुपर्छ,’ उनले भने ।

बुटक्याम्प सफल बनाउन सहयोग गर्ने अतिथि, प्रशिक्षक, विश्वविद्यालय परिवार, स्ववियुका पदाधिकारी तथा सदस्य, स्वयंसेवक र सहभागी विद्यार्थीप्रति आयोजकले आभार व्यक्त गरेको छ ।