कीवर्डहरू -

बनेपामा थर्ड पार्टी लजिस्टिक वेयरहाउस बनाउँदै उपाय, लागत १२० करोड

बनेपामा थर्ड पार्टी लजिस्टिक वेयरहाउस बनाउँदै उपाय, लागत १२० करोड

लजिस्टिक कम्पनी उपायले आफ्नो थर्ड पार्टी लजिस्टिक्स (थ्रीपीएल) वेयरहाउस व्यवसाय विस्तार गर्ने घोषणा गरेको छ । उपायको नयाँ वेयरहाउस बनेपा नगरपालिका, वडा नं १३, नेपाल प्रहरी स्कूल नजिकै, अरनिको राजमार्गसँगै करिब १८ रोपनी (लगभग १ लाख वर्गफुट) कम्पनीको आफ्नै जग्गामा हुनेछ ।

नेपालको लजिस्टिक्स क्षेत्रमा प्रविधि र पूर्वाधारको कमीलाई महसुस गर्दै, उपायले आफ्नो पहिलो 3PL वेयरहाउस निर्माण गर्न लागेको हो । यो वेयरहाउसको निर्माण कार्य सन् २०२५ अप्रिलबाट शुरु हुने अपेक्षा गरिएको छ र २०२६ को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य कम्पनीले राखेको छ । 

उपायले निर्माण गर्न लागेको यो वेयरहाउस परियोजनाको अनुमानित लागत १.२ अर्ब नेपाली रुपैयाँ (१२० करोड रुपैयाँ) रहेको छ । कम्पनीले यही कार्यक्रममा सिटिजन्स् बैंक इन्टरनेशनलको नेतृत्वमा माछापुच्छ्रे बैंकको सहभागितासहित ९५ करोड रुपैयाँको कन्सोर्टियम ऋण व्यवस्थापनको सफल फाइनान्सियल क्लोजर सम्पन्न भएको घोषणा पनि गरेको छ । 

यस वेयरहाउस परियोजनामा डोल्मा इम्प्याक्ट फण्ड-२ तथा अन्य लगानीकर्ताहरूले पूँजी लगानीमा सहभागिता जनाउने जानकारी पनि यस कार्यक्रममार्फत दिईएको छ । कार्यक्रममा कन्सोर्टियम ऋणका अगुवाई सिटिजन्स् बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी गणेश राज पोखरेलले नेपालमा वेयरहाउस ईन्फ्रास्ट्रक्चरको अपार सम्भावना रहेको र यो परियोजना नेपालको पूर्वाधार क्षेत्रको विकासका लागि महत्वपूर्ण आधार बन्ने बताए । 

उपायले निर्माण गर्न लागेको वेयरहाउसले विभिन्न प्रकारका ग्राहक जस्तै फास्ट मुभिङ्ग कनज्युमर गुड्स (एफएमसीजी), फास्ट मुभिङ्ग कनज्युमर ड्यूरेबल्स (एफएमसीडी), ई-कमर्स, क्विक कमर्स, खुद्रा चेन स्टोर, लुगाफाटा / जुत्ता/ सौन्दर्य सामग्री, इलेक्ट्रोनिक्स, तथा अटो पार्ट्सको ईन्भेन्टरी व्यवस्थापनको कार्य गर्नेछ ।

प्रस्तावित वेयरहाउसको ग्राउन्ड कभरेज ४५,००० वर्गफुट हुनेछ र कुल भण्डारण क्षमता १ लाख वर्गफुटभन्दा बढी रहनेछ । उपायको थ्रीपीएल वेयरहाउस अत्याधुनिक पूर्वाधारयुक्त हुनेछ, जसमा ग्रेड ए प्रि-इन्जिनियर्ड बिल्डिङ (PEB) स्टिल संरचना प्रयोग गरिनेछ, जसले भूकम्पबाट हुने क्षति न्यूनिकरण समेत गर्नेछ । 

साथै, यसमा हाई डेन्सिटी रयाकिङ् (High-Density Racking - HDR) र मल्टी टायर सिल्भिङ (Multi-Tier Shelving) सहित ग्राहकहरूको आवश्यकता अनुसार डिजाइन गर्न मिल्ने Built-To-Suit-BTS सुविधा उपलब्ध गराइनेछ । यो वेयरहाउस भारतको प्रमुख कम्पनी कोरस्केप डिजाइन एलएलपीले डिजाइन गर्नेछ, जुन वातावरणमैत्री तरिकाले, फोहोर व्यवस्थापन र वर्षा पानी संकलन प्रणाली समेटेर निर्माण गरिनेछ ।

कार्यक्रममा उपायका सह-संस्थापक तथा निर्देशक रन्जिव आवश्यक पूर्वाधारको अपर्याप्तता तथा उचित व्यवस्थापनको कमिले गर्दा नेपालमा लजिस्टिको लागत अर्थतन्त्रको करिब २० प्रतिशत रहेको जानकारी दिदै अन्य सहरहरूमा पनि यस्ता वेयरहाउसहरू निर्माण गर्ने योजना बनाइरहेको बताए ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले हाल बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम प्रसस्त भए तापनि लगानीयोग्य परियोजनाहरू सीमित रहेका कारण चुनौतीहरू रहेको उल्लेख गर्दै यस्ता नविनतम अवधारणाले समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । 

उपायका सह-संस्थापक तथा प्रबन्ध निर्देशक सुमन रायमाझीले वेयरहाउसले हाम्रा ग्राहकहरूलाई भण्डारण तथा ईन्भेन्टरी व्यवस्थापनको जिम्मेवारी पूर्ण रूपमा हामीलाई हस्तान्तरण गरी आफ्नै मुख्य व्यवसायमा ध्यान दिई व्यवसायलाई विस्तार गर्न सहज बनाउने जानकारी दिए । 

उक्त कार्यक्रममा उपायको प्रमुख लगानीकर्ता-डोल्मा इम्प्याक्ट फण्ड, भारतको अग्रणी औद्योगिक तथा लजिस्टिक कम्पनी-प्रगति इन्फ्रा सोलुसन्स लिमिटेडका कार्यकारीहरू, भारत र नेपालका लजिस्टिक विशेषज्ञहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, लगानीकर्ताहरु तथा उपायका सम्भावित ग्राहकहरूको उपस्थिति रहेको थियो ।