कीवर्डहरू -

युट्युबमा २० अर्ब भिडियो अपलोड! दुई दशकको यात्रामा विश्वकै सबैभन्दा ठूलो भिडियो प्लेटफर्म बन्न सफल

युट्युबमा २० अर्ब भिडियो अपलोड! दुई दशकको यात्रामा विश्वकै सबैभन्दा ठूलो भिडियो प्लेटफर्म बन्न सफल

दुनियाँको सबैभन्दा ठूलो भिडियो शेयरिङ्ग प्लेटफर्म युट्युबका दीवाना तपाईंलाई हरेक ठाउँमा भेटिन्छन् । यो प्लेटफर्म मनोरञ्जनदेखि लिएर नयाँ–नयाँ कुरा सिक्ने एक उत्कृष्ट माध्यम बनेको छ । यसैक्रममा, बुधबार कम्पनीले जानकारी दिएको छ कि यस प्लेटफर्ममा हालसम्म २० अर्बभन्दा धेरै भिडियो अपलोड भइसकेका छन् । यसको सुरुआत दुई दशकअघि केवल एक डिनर पार्टीमा भएको कुराकानीबाट भएको थियो र आज यस प्लेटफर्मले यति ठूलो उपलब्धि हासिल गरेको छ । 

बुझ्नुपर्ने कुरा के हो भने युट्युबको स्थापना सन् २००५ मा पेपालका पूर्व कर्मचारीहरू स्टीव चेन, चाड हर्ली र जावेद करीमले गरेका थिए । युट्युब डटकम वेबसाइटको सुरुआत भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४, २००५ मा भएको थियो र त्यसपछि अप्रिल २३ मा यस प्लेटफर्ममा पहिलो भिडियो ‘मी एट जू’ सेयर गरिएको थियो । यो १९ सेकेन्डको भिडियो जावेद करीमले अपलोड गरेका थिए जुन अहिलेसम्म ३५६ मिलियनभन्दा बढीपटक हेरिसकिएको छ ।

कम्पनीले यस विशेष अवसरमा जानकारी दिँदै बताएको छ कि युट्युबमा दैनिक औसतमा २ करोड भिडियोहरू अपलोड हुने गर्छन् । यो प्लेटफर्ममा अहिले संगीत भिडियोदेखि लिएर पोडकास्ट, ट्युटोरियल, राजनीतिक विज्ञापन, कन्सर्ट क्लिप्स र धेरै प्रकारका भिडियोहरू हेर्न सकिन्छ ।

त्यस्तै, मार्केट रिसर्च कम्पनी स्टाटिस्टाले जानकारी दिएको छ कि युट्युबले गएको वर्ष विश्वभर २.५ अर्ब दर्शकसम्म आफ्नो पहुँच बनाएको छ । साथै, म्युजिक र प्रिमियम टियरका १० करोडभन्दा बढी सब्सक्राइबर भइसकेका छन् ।

जानकारीअनुसार, युट्युबको सुरुआती यात्रा खासै सहज थिएन र कम्पनीलाई थुप्रै विवादको सामना गर्नुपरेको थियो । खासगरी, प्लेटफर्ममा भएको केही सामग्रीका कारण धेरै आलोचना पनि भएको थियो । तर समयसँगै कम्पनीले केही कडा नियमहरू बनायो र त्यसमा राम्रोसँग नियन्त्रण ल्यायो ।

आजको समयमा युट्युबले नेटफ्लिक्स, डिज्नी र अमेजन प्राइम जस्ता प्लेटफर्महरूलाई कडा टक्कर दिइरहेको देखिन्छ । साथै, यस प्लेटफर्मको शर्ट भिडियो फिचर पनि टिकटक र इन्स्टाग्राम रील्सलाई प्रतिस्पर्धा दिइरहेको छ ।