संयुक्त राज्य अमेरिका र चीनले टिकटक सम्झौतामा अगाडि बढ्ने तयारी गरेका छन्। अमेरिकी राजस्व सचिव स्कट बिसेन्टका अनुसार दुई देशबीच उक्त सम्झौता अन्ततः टुंगिएको छ।
बिसेन्टले गत महिना म्याड्रिडमा भएका छलफलका क्रममा टिकटक सम्झौताका लागि ‘फ्रेमवर्क’ तयार भएको बताएका थिए। त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता सहज बनाउन कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
सीबीएसको ‘फेस द नेशन’ कार्यक्रममा आइतबार बिहान बोल्दै बिसेन्टले भने, ‘हामीले म्याड्रिडमा सम्झौता गरेका थियौं, र आजको मितिसम्म सबै विवरणहरू मिलिसकेका छन्। यो सम्झौता बिहीबार कोरियामा दुई नेताले औपचारिक रूपमा पूरा गर्नेछन्।’
उनले सम्झौताका विस्तृत विवरण सार्वजनिक गर्न अस्वीकार गरे पनि भने, ‘मलाई चिनियाँ पक्षलाई लेनदेन स्वीकृत गर्न राजी गराउने जिम्मेवारी थियो, र त्यो हामीले पछिल्ला दुई दिनमा सफलतापूर्वक पूरा गरेका छौं।’
राष्ट्रपति ट्रम्पले बाइटडान्सलाई आफ्नो स्वामित्व अन्तर्गतको टिकटक अमेरिकी बजारमा बिक्री गर्न वा प्रतिबन्धको जोखिम मोल्नुपर्ने कानुनको समयसीमा पटक–पटक विस्तार गर्दै आएका छन्।
ट्रम्पको कार्यकारी आदेशअनुसार, टिकटकको अमेरिकी सञ्चालन (रेकमेन्डेसन एल्गोरिदम, स्रोत कोड र कन्टेन्ट मोडरेशन) नयाँ बोर्ड अफ डायरेक्टर्सको नियन्त्रणमा रहनेछ। यस अन्तर्गत ओरेकल (Oracle) सुरक्षा सञ्चालनको जिम्मेवारी लिनेछ।
ट्रम्पका सहयोगी ल्यारी एलिसन नेतृत्वको ओरेकलसँगै फक्स कर्प, एन्ड्रिसन होरोविट्ज र सिलभर लेक म्यानेजमेन्ट नयाँ संयुक्त लगानीकर्ताको रूपमा रहने जनाइएको छ। फक्सको सहभागिता ट्रम्प स्वयंले पुष्टि गरेका छन्।
यो पनि पढ्नुहोस्
अमेरिकामा टिकटक: बहुमत स्वामित्व अमेरिकी लगानीकर्ताको हुने, सम्झौतामा कहिले होला हस्ताक्षर ?
अमेरिकामा टिकटक: ८० प्रतिशत स्वामित्व अमेरिकी लगानीकर्ताले लिने, नयाँ एप परीक्षणमा
आईसीटी समाचार