तीन दिनसम्म सञ्चालन भएको अमेरिका–नेपाल स्टार्टअप विकेन्ड च्यालेन्ज सम्पन्न भएको छ। प्रारम्भिक चरणका उद्यमी, नवप्रवर्तक र स्टार्टअप संस्थापकहरूलाई एउटै मञ्चमा ल्याएर अमेरिकी नवप्रवर्तन मोडेलबाट प्रेरित व्यवसायिक अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रमले नेपालको उद्यमशील पारिस्थितिकी तन्त्रमा नयाँ ऊर्जा थपेको आयोजकहरूले बताएका छन्।
देशभरबाट प्राप्त २८३ आवेदनमध्ये छनोट गरिएका २५ उत्कृष्ट टोलीहरू कार्यक्रममा सहभागी भएका थिए। करिब १०० जना प्रारम्भिक चरणका उद्यमी तथा संस्थापकहरूले तीन दिनसम्म तीव्र प्रतिस्पर्धात्मक र एक्सेलेरेटर शैलीको वातावरणमा आफ्ना स्टार्टअप अवधारणालाई परिष्कृत गर्ने अवसर पाएका थिए ।
सहभागी टोलीहरूलाई व्यवसाय विकासका आधारभूत सिद्धान्त, बजार विश्लेषण, लगानी तयारी, उत्पादन–बजार अनुकूलता, वित्तीय मोडेलिङ तथा प्रभावकारी पिचिङ जस्ता विषयमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्तिम दिन पिचिङ सत्र थियो, जहाँ टोलीहरूले निर्णायक मण्डल समक्ष आफ्ना व्यवसायिक अवधारणा प्रस्तुत गरेका थिए। तीव्र प्रतिस्पर्धापछि गरुडएक्स ग्रुप प्रथम हुँदै नगद ३ लाख ५० हजार रुपैयाँ बराबरको बीज पूँजी (Seed Funding) प्राप्त गर्न सफल भएको छ ।

गरुडएक्स ग्रुप ड्रोन, भिएफएक्स, म्यापिङ जस्ता क्षेत्रमा काम गर्दै आएको छ । त्यसैगरी फुल्ली चार्ज्ड नेपाल पहिलो उपविजेता बन्दै २ लाख रुपैयाँ र कानून पोर्टल दोस्रो उपविजेता बन्दै १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएको छ। फुल्ली चार्ज्ड नेपाल क्लिन टेक कम्पनी हो भने कानुन पोर्टल एआईमा आधारित लिगल टेक प्लेटफर्म हो ।
विजेता टोलीहरूले प्रविधिमा आधारित नवप्रवर्तन, दिगो व्यवसायिक मोडेल तथा बजार विस्तारको स्पष्ट रणनीति प्रस्तुत गरेका थिए। निर्णायक मण्डलले व्यवसायको सम्भाव्यता, सामाजिक तथा आर्थिक प्रभाव, टोलीको क्षमता र दीर्घकालीन विस्तार योजनालाई मूल्याङ्कनको आधार बनाएको जनाएको छ।
कार्यक्रमको उद्घाटन सत्रमा नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत (Chargé d’Affaires) स्कट अर्बोमले मुख्य मन्तव्य दिँदै अमेरिका–नेपाल साझेदारीको सुदृढ सम्बन्धलाई जोड दिए।
यस्ता कार्यक्रमहरूले नेपाली प्रतिभालाई अमेरिकी अनुभव र विश्वस्तरमा परीक्षण गरिएका अभ्याससँग जोड्दै दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउने उनको भनाइ छ ।
निर्णायक मण्डलमा अमेरिकी दूतावास नेपालका पब्लिक अफेयर्स प्रमुख माइक हार्कर, ब्लिट्ज मिडिया प्रालिकी सह–संस्थापक जुना माथेमा, डियरहोल्ड लिमिटेडका नेपाल निर्देशक सचिन करणजीत तथा वन टु वाचका प्रबन्ध निर्देशक सुमन के जोशी सहभागी थिए। उनीहरूले सहभागी टोलीहरूलाई व्यवसायिक दृष्टिकोण, लगानी तयारी तथा अन्तर्राष्ट्रिय बजार पहुँचका विषयमा महत्वपूर्ण सुझाव प्रदान गरेका थिए।

कार्यक्रममा अमेरिकी दूतावास नेपालसहित एमच्याम नेपाल, कन्फेडेरेसन अफ नेपालीज इन्डस्ट्रिज–युवा उद्यमी मञ्च, फेडेरेसन अफ वुमन आन्टरप्रेनर्स एसोसिएसन अफ नेपाल, मार्केटएज एलएलसी, नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (NAS-IT) तथा नेपालिज योङ आन्टरप्रेनर्स फोरम (NYEF) लगायतका साझेदार संस्थाहरूको सहकार्य रहेको थियो।
तीन दिनको अवधिमा सहभागीहरूले अनुभवी नेपाली तथा अमेरिकी मेंटर्सबाट व्यक्तिगत ‘वन–अन–वन’ मार्गदर्शन पाएका थिए। यसले उनीहरूलाई आफ्नो स्टार्टअप अवधारणा परिमार्जन गर्न, बजार रणनीति स्पष्ट पार्न तथा लगानीकर्तासमक्ष प्रस्तुतिकरण सुदृढ बनाउन सहयोग पुगेको आयोजकहरूको भनाइ छ।
नेपालका युवा उद्यमीहरूलाई विश्वव्यापी सोच, नवप्रवर्तनशील दृष्टिकोण र अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्ने लक्ष्यसहित आयोजना गरिएको यो स्टार्टअप विकेन्ड च्यालेन्जले नेपालको स्टार्टअप इकोसिस्टमलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

आईसीटी समाचार