राष्ट्रिय सुरक्षाको जोखिम देखाउँदै अमेरिकी वाणिज्य विभागले टीपी-लिंक राउटरहरूमा प्रतिबन्ध लगाउने सम्भावित कदमको बारेमा जानकारी बाहिर आएको छ । द वाशिङटन पोस्टका अनुसार, यो निर्णयबारेका आन्तरिक छलफलहरूमा संलग्न थुप्रै स्रोतहरूले नाम नखुलाउने सर्तमा जानकारी दिएका छन्, जसमा अमेरिकी रक्षा मन्त्रालयका एक पूर्व वरिष्ठ अधिकारी पनि सामेल थिए ।
यो वर्षको गर्मीमा गृह सुरक्षा, न्याय र रक्षा मन्त्रालयहरूबीच लामो अन्तरसंस्थागत प्रक्रिया चलेको थियो, जसले यस्तो व्यापक कदमबारे विचार गरेको बताइन्छ । टीपी-लिंकसँग सम्बन्धित राष्ट्रिय सुरक्षासम्बन्धी अनुसन्धानहरू कम्तीमा गत वर्षदेखि नै भइरहेको पनि रिपोर्टमा जनाइएको छ ।
संभावित प्रतिबन्धको केन्द्रमा रहेको मुख्य चिन्ता भनेको टीपी-लिंकले अझै पनि चीनसँग सम्बन्ध कायम राखेको हो कि भन्ने हो । यद्यपि कम्पनीले सन् २०२२ मा चिनियाँ कम्पनी टिपी लिंक टेक्नोलोजीजबाट अलग भई स्वतन्त्र इकाइका रूपमा आफूलाई पुनर्संरचना गरेको दाबी गरेको छ ।
टीपी-लिंकका प्रवक्ताले भनेका छन्, ‘टीपी-लिंकविरुद्ध कुनै प्रतिकूल कदम चालिए पनि त्यसले चीनमा कुनै असर पार्दैन, बरु अमेरिकास्थित कम्पनीलाई हानि पुर्याउँछ ।’ अमेरिकी अधिकारीहरूका अनुसार, चिनियाँ कानुनअन्तर्गत टीपी-लिंकले त्यहाँका गुप्तचर निकायका निर्देशनहरू पालना गर्नुपर्ने हुन सक्छ र चीनले कम्पनीमाथि दबाब सिर्जना गरी यसको उपकरणमा हानिकारक सफ्टवेयर अपडेट पठाउन पनि लगाउन सक्छ ।
तर, अमेरिकास्थित टीपीलिंक सिस्टमले भने आफूहरू चीनको सुरक्षा एजेन्सीको प्रभावमा छैनौं भन्ने स्पष्ट प्रतिक्रिया दिएको छ । टीपी-लिंकका राउटरहरू अहिले अमेरिकामा सबैभन्दा लोकप्रियमध्ये पर्छन् । कम्पनीका अनुसार, यसले ३६ प्रतिशत अमेरिकी बजार हिस्सा ओगटेको छ ।
टीपी-लिंकका उत्पादनमा प्रतिबन्ध लगाउने सम्भावना अमेरिका र चीनबीच चलिरहेका व्यापार वार्ताहरूको पृष्ठभूमिमा देखा परेको अर्को कदम हो । यद्यपि बिहीबारको वार्तामा केही प्रगतिका संकेत देखिएका छन् ।
द वाशिङटन पोस्टका स्रोतका अनुसार, टीपी-लिंक प्रतिबन्ध अझै अमेरिकी प्रशासनको ‘बार्गेनिङ चिप’ (सम्झौताका लागि दबाबको औजार) को रूपमा कायम छ ।
 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      