कीवर्डहरू -

काम छिटो र व्यवस्थित बनाउन विन्डोजको यो फिचर प्रयोग गर्नुहोस्

काम छिटो र व्यवस्थित बनाउन विन्डोजको यो फिचर प्रयोग गर्नुहोस्

काठमाडौं । विन्डोजको Snap Layouts फिचरले स्क्रिनमा विभिन्न एपलाई व्यवस्थित रूपमा राख्न सहज बनाउँछ । डेस्कटपमा Win + Z थिचेर लेखन, अनुसन्धान, स्प्रेडसिट लगायतका कामका लागि एकैपटक धेरै एपलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ । यसले स्क्रिनको प्रभावकारी उपयोग गर्दै कामलाई थप व्यवस्थित र सहज बनाउँछ ।

विन्डोजका एप्लिकेसन विन्डोहरूलाई स्क्रिनको छेउमा तानेर राख्नु सामान्य तरिका हो । तर विन्डोज ११ ले यसलाई अझ सहज बनाउन Snap Layouts फिचर उपलब्ध गराएको छ ।

सक्रिय विन्डोमा Win + Z थिच्दा माथिल्लो दायाँ कुनामा Snap Layouts देखिन्छ । यसले स्क्रिनलाई दुई, तीन वा चार भागमा विभाजन गर्ने गरी नौवटा फरक लेआउट उपलब्ध गराउँछ । आफूलाई आवश्यक भाग छनोट गरेपछि Snap Assist मार्फत बाँकी खाली स्थानमा अन्य एपहरू सजिलै राख्न सकिन्छ ।

Snap Layouts को सही लेआउट कामको प्रकृतिअनुसार छनोट गर्न सकिन्छ । लेखनका लागि स्क्रिनको करिब दुई तिहाइ भागमा Word र बाँकी भागमा नोट राख्दा सहज हुन्छ । अनुसन्धान गर्दा दुईवटा समान भागमा पढ्ने र नोट बनाउने काम गर्न सकिन्छ ।

स्प्रेडसिटका लागि ठूलो भागमा Excel र सानो भागमा ब्राउजर, क्याल्कुलेटर वा स्रोत सामग्री राख्न सकिन्छ । त्यस्तै, भिडियो कलका क्रममा ठूलो भागमा बैठक र सानो भागमा नोट, च्याट वा एजेन्डा राख्दा काम व्यवस्थित हुन्छ ।

Snap Layouts खोल्न विन्डोको Maximize बटनमा माउस राख्न वा विन्डोलाई स्क्रिनको माथिल्लो भागमा तान्न सकिन्छ । प्रयोगकर्ताको स्क्रिनको आकार र बनोटअनुसार देखिने लेआउट विकल्प फरक हुन सक्छन् ।

लेआउट बनाएपछि Windows ले ती एपहरूलाई Snap Group का रूपमा व्यवस्थापन गर्छ । त्यसलाई Taskbar, Task View वा Alt + Tab बाट एकैपटक पुन: खोल्न सकिन्छ । साथै, दुईवटा विन्डोबीचको डिभाइडर तानेर दुवैको आकार एकैपटक मिलाउन पनि सकिन्छ ।

Snap Layouts को प्रयोग एउटै मोनिटरमा अझ प्रभावकारी देखिए पनि यो बहु-मोनिटर सेटअपमा पनि उपयोगी हुन्छ । सुरुमा यसको प्रयोग गर्ने बानी बसाल्न केही समय लाग्न सक्छ । तर Win + Z को प्रयोगले धेरैवटा एप र विन्डो खुलेको डेस्कटपलाई व्यवस्थित र सहज रूपमा व्यवस्थापन गर्न सकिन्छ ।