भिडियो मार्केटिङ तथा क्रिएटर सहकार्यमा केन्द्रित विश्वव्यापी प्लेटफर्म भील (Veel) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिलीप ढकालले नेपालमा पाइलट परियोजना सुरु गर्ने योजना घोषणा गरेका छन्।
अमेरिकी दूतावास नेपालद्वारा आयोजित ‘क्रिएटर्स मेला’ कार्यक्रमअन्तर्गत आयोजित प्यानल छलफलका क्रममा उनले यो घोषणा गरेका हुन्। ‘क्रिएटर्स मेला’ नेपालमा क्रिएटरहरूलाई विचार आदान–प्रदान, सहकार्य र सीप विकासका अवसर प्रदान गर्ने पहल हो।
नेपालमा ‘भील’को पाइलट सुरुवातसँगै ब्रान्ड र क्रिएटरबीच सहकार्यलाई अझ प्रभावकारी बनाउँदै देशको उदीयमान क्रिएटर इकोनोमीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।
प्यानल छलफलमा ढकालसँगै अमेरिका, सान फ्रान्सिस्कोकी डिमान्ड जेनेरेसन स्पेसलिस्ट तथा यूजीसी (User Generated Content) क्रिएटर भेरोनिका क्यामाचो पनि सहभागी थिइन्। छलफलमा विश्वव्यापी क्रिएटर इकोनोमीको विकास र नेपालजस्ता उदीयमान बजारमा यसको प्रभावबारे चर्चा गरिएको थियो। कार्यक्रममा क्रिएटर, डिजिटल पेशेवर तथा उद्योगका सरोकारवालाहरूको उपस्थिति थियो।
हाल विश्वव्यापी क्रिएटर इकोनोमीको मूल्य २५० अर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ। छोटो भिडियो, यूजीसी सामग्री र क्रिएटर–आधारित मार्केटिङमा ब्रान्डको बढ्दो लगानीका कारण यो क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको छ।
अमेरिकाजस्ता विकसित बजारमा संरचित प्रणाली र पूर्वाधार उपलब्ध भए पनि नेपालजस्ता उदीयमान बजारमा यी अवसरहरू अझै औपचारिक बन्दै गएको अवस्था छ।
नेपालको क्रिएटर इकोनोमीको आकार हाल करिब ३०–४० मिलियन अमेरिकी डलरको हाराहारीमा रहेको अनुमान गरिएको छ। हालको तथ्यांकअनुसार नेपाली क्रिएटरहरूले वार्षिक २५ मिलियन अमेरिकी डलरभन्दा बढी आम्दानी गरिरहेका छन्, जसले यस क्षेत्रको प्रारम्भिक अवस्था र भविष्यमा ठूलो सम्भावना रहेको संकेत गर्दछ।
बदलिँदो परिदृश्यबारे बोल्दै ढकालले क्रिएटर र ब्रान्डलाई पारदर्शी रूपमा जोड्ने दिगो प्लेटफर्मको आवश्यकता औंल्याए।
‘आजको क्रिएटर इकोनोमी सामग्रीमा मात्र सीमित छैन, यो रोजगारी, विश्वास र दिगो प्रणालीसँग जोडिएको छ,’ ढकालले भने, “विश्वभर क्रिएटरहरूले पूर्णकालीन करियर बनाइरहेका छन्, तर उचित उपकरण र संरचना नहुँदा धेरैलाई निरन्तर रूपमा अगाडि बढ्न कठिन भइरहेको छ। भीलले क्रिएटर र ब्रान्ड दुवैलाई सहयोग गर्ने इकोसिस्टम निर्माणमा ध्यान दिएको छ।’
क्यामाचोले क्रिएटरको दृष्टिकोणबाट कुरा गर्दै प्रामाणिक कथा र यूजीसी सामग्रीले परम्परागत विज्ञापनभन्दा राम्रो प्रदर्शन गरिरहेको बताइन्। साथै, कामको स्पष्ट दायरा नहुनु, भुक्तानी ढिला हुनु र मानकीकृत प्रक्रिया अभावजस्ता चुनौतीहरू क्रिएटरहरूले भोगिरहेको उल्लेख गरिन्।
प्यानलमा अमेरिकी र नेपाली क्रिएटर बजारबीचका भिन्नताहरू—जस्तै बजारको परिपक्वता, पिचिङ संस्कृति र ब्रान्डका अपेक्षाहरू—बारे पनि छलफल भयो। दुवै वक्ताले नेपालमा सिर्जनात्मक क्षमता प्रशस्त भए पनि प्लेटफर्म, शिक्षा र अन्तर्राष्ट्रिय सहकार्यका मापदण्डमा पहुँच बढाउन आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रमका क्रममा ढकालले भीलले छिट्टै नेपालमा पाइलट परियोजना सुरु गर्ने औपचारिक पुष्टि गरे। अमेरिकामा स्थापित र विश्वसनीय क्रिएटर मार्केटिङ प्लेटफर्मको रूपमा परिचित भीलले नेपाली क्रिएटरलाई ब्रान्डसँग जोड्ने अवसर प्रदान गर्नुका साथै व्यवसायहरूलाई ठूलो स्तरमा प्रामाणिक भिडियो सामग्री प्रयोग गर्न सहयोग गर्ने लक्ष्य लिएको छ।
‘नेपालमा अपार सिर्जनात्मक प्रतिभा छ,’ ढकालले भने, ‘हाम्रो पाइलट पहलले क्रिएटरलाई आफ्ना सीपबाट आम्दानी गर्न र ब्रान्डलाई प्रमाणित क्रिएटरसँग सहज रूपमा काम गर्न मद्दत गर्ने प्रणाली निर्माणमा केन्द्रित हुनेछ।’
सत्रको अन्त्यमा क्रिएटरहरूलाई कथा–कथन, सञ्चार र व्यावसायिक सहकार्य सीप विकास गर्न सुझाव दिइयो, जसले आगामी वर्षहरूमा दिगो आम्दानीको आधार तयार गर्न मद्दत गर्ने बताइएको थियो।
भीलको नेपाल प्रवेशसँगै स्थानीय क्रिएटरलाई विश्वस्तरीय मापदण्डसँग जोड्ने यो पहलले नेपालको डिजिटल क्रिएटर इकोनोमीलाई थप बलियो बनाउने महत्वपूर्ण कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ।
आईसीटी समाचार