इन्टरनेट सेवा प्रदायकको भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा सुरू भएको भएको छ । जेनजी प्रदर्शनका क्रममा सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा रहेको डेटा सेन्टरमा क्षति पुगेको इन्टरनेट र भाया टिभीमा समस्या देखिएको थियो ।
कम्पनीको व्याकअप डेटा सेन्टर भएपनि अचानक सबै ग्राहकको इन्टरनेट ट्राफिक धान्न नसक्दा सेवा अवरूद्ध भएको थियो । तर, कम्पनीको प्राविधिक टोलीको निरन्तर प्रयासपछि सेवा विस्तारै सामान्य अवस्थामा फर्किएको छ ।
‘भदौ २५ गते बिहान, सेना र प्रहरीले धेरै ठाउँका आगो नियन्त्रणमा लिएपछि, करिब १२ बजे मात्र हाम्रो टोली डाटा सेन्टरमा पस्न सकेको थियो,’ कम्पनीको विज्ञप्तीमा भनिएको छ, ‘आंशिक रूपमा जलेको, धुवाँले भरिएको र सिसा चकनाचुर भएको भवनभित्र, टोलीले जोखिम मोलेर महत्वपूर्ण सर्भरहरू सुरक्षित बाहिर ल्याएर अर्को डाटा सेन्टरमा पुनः जडान गर्न सुरू गरिएको थियो ।’
तर अझै पनि भायानेटको इन्टरनेट र भाया टिभी पूरै क्षमतामा सञ्चालनमा आएको छैन् । बाँकी सर्भरहरू अर्को डाटा सेन्टरमा सार्ने काम भइरहेकाले इन्टरनेट स्लो हुन सक्ने बताइएको छ । पूर्ण रूपमा भदौ २९ गतेदेखि सेवा सञ्चालनमा आउने आशा गरिएको छ ।
यससँगै भायानेट कस्टुमर मोबाइल एप पूर्ण रुपमा चल्न थालेको छ भने कल सेन्टर थप क्षमतासहित सञ्चालनमा आएको छ । आगलागीका कारण बिग्रिएका अधिकांश फाइबर ब्रेकेजहरू प्राविधिक टोलीले मर्मत गरिसकेको कम्पनीले जनाएको छ।
‘यति ठूलो चुनौतीबीच पनि ४८ घण्टाभित्र सेवा सामान्य अवस्थामा ल्याउन सफल हुनु हाम्रो टिमको समर्पण र नेटवर्कको मजबुतीको उदाहरण हो । यस घटनाले भविष्यमा अझ बलियो र सुरक्षित नेटवर्क बनाउन थप प्रेरणा दिएको छ,’ कम्पनीले भनेको छ ।