आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीको संयुक्त पहलमा मधेश प्रदेशमा ‘भर्चुअल डिजिटल लिडरसीप डायलग’ आयोजना हुने भएको छ।
राष्ट्रियस्तरमा सञ्चालन भइरहेको यो संवाद श्रृंखला यसअघि कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सफलतापूर्वक सम्पन्न भइसकेको छ। सोमबार अर्थात आज साँझ मधेश प्रदेश संस्करण आयोजना हुन लागेको हो।
कार्यक्रममा मधेश प्रदेशका विभिन्न राजनीतिक दलका उम्मेदवारहरूको सहभागिता रहनेछ। संवादका क्रममा नागरिक तथा युवाहरूले उम्मेदवारहरूको विचार, नीति तथा डिजिटल एजेन्डाबारे प्रत्यक्ष रूपमा सुन्न र प्रश्नोत्तरमार्फत संवाद गर्न पाउनेछन्।
संवाद डिजिटल रूपान्तरण, ई–गभर्नेन्स, पारदर्शिता, युवा रोजगारी, स्टार्टअप प्रवर्द्धन तथा कृषि क्षेत्रमा प्रविधिको उपयोगजस्ता विषयमा केन्द्रित रहने आयोजकले जनाएको छ।
मधेश प्रदेशका लागि भर्चुअल संवाद फागुन ११ गते साँझ ५:३० बजेदेखि जूममार्फत आयोजना हुनेछ। कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।
कार्यक्रममा राजनीतिक नेतृत्व र उम्मेदवारसँगै युवा, नागरिक समाज, सञ्चारमाध्यम, महिला, सीमान्तकृत समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहनेछ।
भर्चुअल संवादमार्फत निर्वाचन प्रक्रियामा नागरिकको सक्रिय सहभागिता, समावेशिता र पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य रहेको आयोजक संस्थाहरूले बताएका छन्।
आईसीटी समाचार