काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन कृत्रिम बुद्धिमत्ता (एआई), भू-उपग्रह प्रविधि, ड्रोन तथा रोबोटिक्सको प्रयोग बढाउने तयारी भइरहेको बताएका छन् ।
बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पुनले एआई र भू-उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्ने तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार विपद्सम्बन्धी अवस्थाको वास्तविक समयमै निगरानी तथा पूर्वानुमान गर्न ‘सिचुएसन रुम’ निर्माण गर्ने विषयमा पनि काम भइरहेको छ । यस्तो प्रणालीमार्फत विभिन्न विपद्को अवस्था निरन्तर निगरानी गर्नुका साथै सम्भावित जोखिमबारे पूर्वानुमान गर्न सकिने उनले बताए ।
मन्त्री पुनले नेपालमै भारी क्षमताका ड्रोन उत्पादन गर्ने लक्ष्यसहित मन्त्रालयले काम अघि बढाइरहेको जानकारी दिए । विपद् उद्धार तथा व्यवस्थापनमा ड्रोन र रोबोटिक्सको उपयोगिता बढ्दै गएकाले नेपालमै यस्ता प्रविधि उत्पादन गर्न सकिने सम्भावनाबारे अध्ययन तथा तयारी भइरहेको उनको भनाइ छ ।
उनका अनुसार हाल चीन र संयुक्त अरब इमिरेट्स (यूएई) बाट ८० देखि १०० किलोग्रामसम्म सामाग्री बोक्न सक्ने ड्रोन सहयोगस्वरूप प्राप्त भएका छन् । यस्ता ड्रोन खरिद गर्दा निकै महँगो पर्ने भएकाले भविष्यमा नेपालमै उत्पादन गर्ने उद्देश्यले काम अघि बढाइएको उनले बताए ।
‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र भू-उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्ने तथा एउटा ‘सिचुएसन रुम’ बनाएर त्यसबाट निरन्तर रियल टाइममा विभिन्न पूर्वानुमान तथा निगरानी गर्ने व्यवस्था विकास गर्ने काम भइरहेको छ,’ उनले भने ।
मन्त्री पुनले नेपालका वैज्ञानिक प्रयोगशाला तथा मापन केन्द्रहरूको मर्मत सम्भार, पुन:स्थापना र आवश्यक सहयोगका कामसमेत भइरहेको जानकारी दिए । हिमताल विस्फोट, पहिरो तथा भूकम्प मापनलगायतका विषयमा अनुसन्धान गरी त्यसलाई व्यावहारिक प्रयोगमा ल्याउने तयारी भइरहेको पनि उनले बताए ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पूर्वचेतावनी प्रणाली, मापन केन्द्र, अनुसन्धान तथा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर काम भइरहेको उनको भनाइ छ ।
मन्त्री पुनका अनुसार मन्त्रालयले हाल रसुवा बाढीपीडितका लागि विदेशी सरकारबाट प्राप्त राहत सामग्री बुझ्ने तथा व्यवस्थापन गर्ने काम गरिरहेको छ । राहत सामाग्री बोकेका विमान दैनिक दुई तीन ट्रिपसम्म नेपाल आइरहेको उनले जानकारी दिए ।
‘मुख्यत: विदेशी सरकारहरूले उपलब्ध गराएका राहत सामग्री जहाजमार्फत आइरहेका छन् । ती सामग्री बुझ्ने काम भइरहेको छ । दिनदिनै आइरहेको छ, दिनमा दुई तीन ट्रिपसम्म पनि आउने गरेको छ,’ उनले भने ।
यसैगरी, रसुवा बाढीका क्रममा मृत्यु भएकाहरूको पहिचानका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार नास्टमा दैनिक करिब ४० देखि ५० वटा नमुना परीक्षण भइरहेको छ । परीक्षणमा नेपाली तथा चिनियाँ टोली संयुक्त रूपमा संलग्न रहेको उनले बताए । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हालसम्म मृतकका १ हजार ५६२ वटा डीएनए परीक्षणका नमुना प्राप्त भएको उनले जानकारी दिए ।
त्यस्तै, बुटवलमा सम्पर्कविहीन भएका व्यक्तिका आफन्तबाट डीएनए नमुना संकलन तथा परीक्षणका लागि ९८ जनाको प्रक्रिया अघि बढाइएको उनले बताए । मन्त्री पुनका अनुसार बुटवलमा डीएनए परीक्षणका लागि भारतबाट नौ जना विज्ञ तथा चीनबाट १५ जना विज्ञ तथा प्राविधिकको टोली आएको छ ।
‘अहिले भइरहेको अर्को महत्वपूर्ण काम डीएनए परीक्षण हो । यो परीक्षण दुई ठाउँमा भइरहेको छ- नास्ट र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा । नास्टमा दैनिकजसो ४०–५० वटा नमुनाको परीक्षण भइरहेको छ । यसमा चिनियाँ र नेपाली टोली मिलेर काम गरिरहेका छन्,’ उनले भने ।
मन्त्री पुनले नास्टले साना सौर्य बत्ती एसेम्बल गरी आवश्यक स्थानमा पठाउने कामसमेत गरिरहेको जानकारी दिए । विपद् व्यवस्थापनका लागि प्रविधिको अधिकतम प्रयोग, पूर्वचेतावनी प्रणालीको विकास, मापन केन्द्रको सुदृढीकरण तथा वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतामा राखेर मन्त्रालयले काम अघि बढाइरहेको उनले बताए ।
आईसीटी समाचार