कीवर्डहरू -

प्रतिबन्ध हटाउने निर्णयपछि टिकटकको प्रतिक्रिया: नेपालीहरूको स्वतन्त्र आवाज बन्छौं

प्रतिबन्ध हटाउने निर्णयपछि टिकटकको प्रतिक्रिया: नेपालीहरूको स्वतन्त्र आवाज बन्छौं

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेपछि टिकटकले खुसी व्यक्त गरेको छ । भदौ ६ गते बसेको मन्त्रीपरिषद् बैठकले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । 

टिकटकका एक प्रवक्ताले टिकटक खुल्ने कुरामा खुशी व्यक्त गर्दै क्रियटर र व्यवसायहरूका लागि टिकटकले आर्थिक अवसरहरूको ढोकासमेत खोलेको बताए ।

‘नेपालमा टिकटक खुल्ने कुराले हामी ज्यादै खुशी छौं । डिजिटल अनुभवको लागि नेपालीहरूको चासोलाई हामी सम्मान पनि गर्दछौं,’ प्रवक्ताले भनेका छन्, ‘प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि टिकटकले आर्थिक अवसरहरूको ढोकासमेत खोलेको छ ।’

यसका साथै नेपालीहरूको स्वतन्त्र आवाज बन्ने दावी टिकटकले गरेको छ । मन्त्रीपरिषद्बाट प्रतिबन्ध हटाउने निर्णय भएपनि अझै टिकटक भनेको खुलेको छैन् । 

टिकटकलाई औपचारिक रूपमा खुलाउनका लागि सरकारले पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा र साक्षरताका लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तर बनाउन सहयोग गर्नुपर्ने तथा सामाजिक सद्भाव खलल पार्ने कन्टेन्ट फिल्टर गर्ने शर्त तोकेको छ । 

सरकारले तोकेको शर्त पूरा गर्ने सम्झौता गरेपछि टिकटक औपचारिक रूपमा चल्ने छ । त्यसपछि सम्भवतः अबको १-२ दिनमै टिकटक सहजै चलाउन सकिने छ ।

यद्यपि सामाजिक सञ्जाल निर्देशिका २०८० अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा टिकटक सूचीकृत भइसकेको छ भने पोइन्ट अफ कन्ट्याक्ट पनि तोकिसकेको छ ।