टेलीमेडिसिन ग्रीक शब्द ‘टेली’ र ल्याटिन शब्द ‘मेडेरी’ बाट बनेको हो । टेलीको अर्थ ‘दूरी’ र ‘मेडेरी’को अर्थ हो, उपचार । अर्थात्, टाढा रहेका बिरामीहरू र चिकित्सकहरूबीचको दूरीलाई हटाएर स्वास्थ्य सुविधाहरूलाई भर्चुअली उपलब्ध गराउनु हो ।
यस व्यवस्थामा स्वास्थ्य सम्बन्धी समस्याहरू हुँदा बिरामीले चिकित्सकको अगाडि भौतिक रूपमा उपस्थित हुनुको सट्टा भिडियो कल, फोन कल, च्याटिंग र इमेलको माध्यमबाट सल्लाह लिन्छन् । टाइम म्यागजिनले यसलाई ‘हिलिङ बाई वायर’ नाम समेत दिएको छ । त्यसैले आधी कुरा त यही कुराबाट नै बुझ्नुभयो होला ।
अब यसको इतिहास थोरै जानौं । यद्यपि टेलीमेडिसिनको उदय इन्टरनेटको युगभन्दा पहिले भएको थियो । तर इन्टरनेको विस्तार भएसँगै यो बढी लोकप्रिय हुन थालेको हो । टेलिमेडिसिनले बिरामीहरूलाई घरमै स्वास्थ्य सेवा लिन सम्भव बनाएको छ ।
टेलीमेडिसिनको इतिहास
टेलीमेडिसिनको आश्चर्यजनक रूपमा लामो इतिहास छ, जुन टेलिफोनको आगमनसँगै सुरू भएको थियो । सन् १९०६ मा, वैज्ञानिक एंथोवेनले पहिलो पटक टेलिफोन लाइनमा इलेक्ट्रोकार्डियोग्राम (ईकेजी) प्रसारणको प्रयोगको अनुसन्धान गरेका थिए । त्यसपछि सन् १९२० को दशकमा, समुद्रमा चिकित्सा आपतकालीन अवस्थाहरूको समयमा सहायता गर्न चिकित्सकहरूलाई नाविकहरूसँग जोड्नको लागि जहाज रेडियोको प्रयोग गरिन्थ्यो ।
त्यस्तै, १९५५ मा, नेब्रास्का मनोरोग संस्थान स्वास्थ्य सुविधाहरूको लागि क्लोज–सर्किट टेलिभिजन प्रयोग गर्ने पहिलो सुविधाहरू मध्ये एक थियो । १९७० को दशकमा, सुदूर अलास्का र क्यानाडाली गाउँहरूमा पैरामेडिक्स उपग्रह मार्फत टाढाको शहरहरूका अस्पतालहरूसँग जोडिएर सेवा प्रदर्शन गर्न सक्षम थिए । आज, टेलीमेडिसिन प्रविधिमा प्रगतिशील प्रगति भएको छ र तीव्र रूपमा परिपक्व हुँदै गएको छ ।
टेलीमेडिसिनको सुरु अमेरिकी अन्तरिक्ष संस्था नासाले गरेको थियो । नासाले सन् १९६० को दशकमा अन्तरिक्षमा जाने आफ्ना अन्तरिक्ष यात्रीहरू र स्पेसक्राफ्टको स्वास्थ्यको हालचाल जान्नका लागि यस प्रविधिको प्रयोग गरेको थियो ।
पछि ग्रामीण इलाकामा यसलाई उपयोगी बनाउनको लागि सन् १९७१ मा नेशनल लाइब्रेरी अफ मेडिसिनले अलास्काका २६ गाउँमा यसलाई परीक्षण गरिएको थियो । त्यसपछि नासाले कम्प्युटर, इन्टरनेट लगायत सम्पूर्ण प्राविधिक सुविधाहरूको साथ सन् १९८९ मा आर्मेनियाको येरेवान शहरमा एउटा टेलीमेडिसिन केन्द्र औपचारिक रूपमा स्थापना गरेको थियो ।
टेलीमेडिसिनका लाभ
टेलीमेडिसिनको आजको समाजमा आफ्नो स्थान छ, तर यसको कार्य परम्परागत दृष्टिकोणको सारलाई प्रतिस्थापित गर्नु होइन, बरु व्यक्तिगत हेरचाहको यो एक राम्रो पूरक हो जसले सबैभन्दा महत्त्वपूर्ण चीजलाई सकारात्मक रूपमा असर गर्ने गरेको छ ।
सबैलाई थाहा छ कि महामारीको प्रत्यक्ष प्रभावको परिणामस्वरूप समाजमा महत्त्वपूर्ण परिवर्तनहरू भएका छन् । स्वास्थ्यको क्षेत्रमा पनि डिजिटलाइजेशन तयार छ । भिडियो कन्फरेन्सिङ पेशेवर र बिरामी बीच प्रत्यक्ष संचार स्थापित गर्ने सामान्य रूपहरू मध्ये एक हो ।
तर यस हेरचाहलाई कुरियर सेवाहरू मार्फत पनि विकास गर्न सकिन्छ । स्वास्थ्य डाटा बिरामीको चिकित्सा इतिहासको हिस्सा हो, जुन गोप्य जानकारी हो । त्यसैले, टेलीमेडिसिन डेटा सुरक्षा कानूनको अनुपालनमा अधिकतम सुरक्षा प्रदान गर्छ ।
कोभिड १९ महामारीको समयमा टेलीमेडिसिनलाई सामाजिक दूरीका साथ प्रभावकारी उपचार दिने सबैभन्दा सुरक्षित प्रणाली मानिएको छ । अस्पतालको चक्कर काट्नमा पुरा दिन खर्च गर्नुको सट्टा यो समयअनुकूल छ ।
साथै, अस्पताल जाने–आउने खर्चलाई कम गर्न र त्यहाँको संक्रामक वातावरण तथा मानसिक रूपमा असहज पार्ने स्वास्थ्य गसिपिङबाट पनि टाढा राख्छ । जो बिरामीहरू अस्पताल जानमा असहज महसुस गर्छन्, उनीहरूका लागि यो प्रणाली रामबाण साबित भएको छ । केही विशेष आपतकालीन स्थितिहरूमा पनि टेलीमेडिसिन राम्रो साबित भएको छ र डिजिटल निगरानीले बिरामीको स्वास्थ्य देखभालको लागत पनि कम भएको छ ।
लकडाउनको समयमा घरमै बन्द रहनुका कारण मानिसहरूमा डिप्रेशनका घटना बढेको थियो। ती बिरामीहरूका लागि टेली काउन्सिलिङ निकै प्रभावकारी साबित भएको थियो । कोरोना महामारीको समयमा जब अधिकांश अस्पतालहरू बिरामीहरूबाट भरिएका थिए, तब लाखौं मानिसहरू टेलीमेडिसिनको सहाराले स्वस्थ भए ।
टेलीमेडिसिनका नोक्सान
टेलिमेडिसिन, सबै व्यक्ति वा स्थितिका लागि उपयुक्त छैन् । पारंपरिक हेरचाहका विधिमा टेलीमेडिसिन प्रयोग उपयोगी नहुन सक्छ ।
यसका साथै, बिरामीहरू बढ्दो साइबर अपराधका कारण आफ्नो गोपनीयताको बारेमा पनि आशंकित छन् । धेरै मानिसहरू टेलीमेडिसिनमा पूर्ण रूपमा निर्भर भइरहेका छन्, यस्तोमा कसैलाई आपतकालीन हेरचाहको आवश्यकता पर्दा अस्पताल जानुको सट्टा पहिले टेलीमेडिसिनको भरपर्नु घातक हुन सक्छ ।
टेलीमेडिसिनमा बिरामीको स्वास्थ्य इतिहासको जानकारी जुटाउन डाक्टरहरूलाई धेरै मेहनत गर्नुपर्छ । डाक्टरले, बिरामीले बताए अनुसारका लक्ष्णहरूको आधारमा मात्र जाँच र औषधि सुनिश्चित गर्छन् ।
डाक्टरको अगाडि हुँदा बिरामीले आफ्नो लक्ष्ण ठीकसँग बताउन नसक्दा डाक्टरले शारीरिक परीक्षणबाट बिरामीलाई बुझ्न प्रयास गर्छन् । अर्कोतर्फ, टेलीमेडिसिनमा यदि कुनै रोगीले एउटा महत्त्वपूर्ण कुरा भन्न छुटाउँदा उपचारमै खतरा हुन सक्छ ।
भर्चुअल सञ्चारमा डाक्टरले तपाईंको मुटुको धड्कन वा सासलाई सुन्नका लागि स्टेथोस्कोपको प्रयोग गर्न सक्दैनन् । तपाईंको बीपी वा सुगर जाँच्न सक्दैनन् । त्यसका लागि उनीहरूलाई भिजुअल मूल्याङ्कनमा निर्भर रहनुपर्छ । उदाहरणका लागि, यदि तपाईंलाई आँखा दुखाइको समस्या छ भने डाक्टरले टर्च बालेर जाँच्न सक्दैनन् । तपाईंले भनेका लक्षणहरूकै आधारमा उपचार सुरु गर्नुपर्छ ।
अर्को समस्या भाषा र प्रविधिको हो । पढेलेखेका मानिसहरू आज पनि आफ्ना लक्षणहरू सही भाषा र सटीक शब्दावलीमा बुझाउन सक्दैनन् । यस सेवाको लाभ लिन नेटवर्क, कम्प्युटर वा मोबाइलका डिभाइस र जानकार मानिसको आवश्यकता छ, जुन नेपालको ग्रामीण ठाउँमा अझै पनि अभाव छ ।