कीवर्डहरू -

एसईईपछि आईटीमा के पढ्ने ?

एसईईपछि आईटीमा के पढ्ने ?

शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भइसकेको छ । एसईईको नतिजा आएसँगै अब अगाडि के गर्ने ? कुन विषय पढ्ने ? लगायतका जिज्ञासा विद्यार्थीहरूलाई उठ्न थालिसकेका छन् । 

विद्यार्थीसँगै अभिभावक पनि उत्तिकै चिन्तित हुन्छन् । एसईईपछि सीटीईभीटीको प्राविधिक विषय पढाउने वा प्लस टु पढाउने दुविधामा हुन्छन् । 

यसै सन्दर्भमा आज हामी आईटीमा आफ्नो भविष्य बनाउने सोचिरहनु भएको छ भने एसईईपछि के के विकल्प छन् भनेर जानकारी दिदैछौं । 

एसईईपछि आईटीमा के के पढ्न सकिन्छ ? 

सबैभन्दा पहिले विद्यार्थीहरूले आफ्नो रूची अनुसारको विषय छनौट गर्नुपर्छ । अरूले भनेकै भरमा र लहलहमै लागेर विषय छनौट गर्नु हुँदैन् । राम्रोसँग अध्ययन गरेर रूची र क्षमताको आधारमा विषय छनौट गर्नुपर्छ । आईटीमा भविष्यमा राम्रो छ भन्दैमा इच्छा नै नलागेको विषयमा हामी फालिहाल्नु उचित नहुन सक्छ ।

तर यदी तपाईलाई आईटीमा रूची छ र स्नातक (ब्याचलर्स) मा आईटीसँग सम्बन्धित कोर्ष अध्ययन गर्न चाहनुहुन्छ भने प्लस टुमा विज्ञान संकाय, व्यस्थापन संकाय, मानवीय संकायका कोर्सहरू छनौट गर्न सक्नुहुन्छ, जसले स्नातक तहमा आईटी पढ्ने ढोका खोल्ने छ ।

हुनत, अहिले विद्यालय तहबाटै कम्प्युटर विषय पढाइ हुन थालेको छ, जसले आईटीमा उच्च शिक्षा अध्ययनमा सहयोग गर्छ । यस बाहेक प्लस टुमा पनि कम्प्युटर विषय छनौट गर्न सक्नुहुन्छ । यसले स्नातहमा तपाईलाई सजिलो बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । 

नेपालमा अहिले काठमाडौं, त्रिभुवन, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम, सुदूरपश्चिम लगायतका विश्वविद्यालयले स्नातकमा बीएससी सीएसआईटी, बीआईटी, कम्प्युटर इन्जिनियर, साइबर सेक्युरिटी, एआई, बीसीए लगायतका आईटी कोर्षहरू सञ्चालन गरिरहेका छन् । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर पनि नेपालमा विभिन्न आईटीका कोर्ष सञ्चालन भइरहेका छन् । 

यस्तै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले एसईईपछि डिप्लोमा, प्रि-डिप्लोमा कोर्ष अध्ययन गराउँछ । डिप्लोमा ३ वर्षको तथा प्रिडिप्लोमा १८ महिना र २४ महिनाको हुने गरेको छ । सीटीईभीटीमा एसईई दिएपछि आईटी पढ्न पाइन्छ । त्यस बाहेक अन्त कतै पनि पाइदैन् ।

सीटीईभीटीले सूचना प्रविधि, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, अटोमोबाइल, बायोमेडिकल जस्ता विषय अध्ययन गराउँदै आएको छ । यस बाहेक सीटीईभीटी शर्ट टर्म कोर्ष समेत सञ्चालन गरिरहेको छ, जसका लागि देशभरका १ हजार ७७५ वटा तालिम प्रदायक संस्थाले स्वीकृत लिएका छन् ।

सीटीईभीटले विभिन्न जिल्लामा ६६ वटा आंगिक कलेज, ५५ साझेदारी शिक्षालय, ६२९ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र ४२२ वटा निजी कलेजहरूबाट कोर्ष सञ्चालन गरिरहेको छ ।

सीटीईभीटीबाट पढ्दा रोजगारी छिटो पाउने सम्भावना बढी हुन्छ । हुनत, आईटी भनेको यस्तो विषय हो, जहाँ तपाईसँग सीप छ भने पढ्दै कमाउँदै गर्न सक्नुहुन्छ । आईटी क्षेत्रमा डिग्री भन्दा पनि सीप महत्त्वपूर्ण हुन्छ ।

समग्रमा हतारमा कुनै पनि विषय रोज्नु अघि विशेषज्ञसँग सही रायसल्लाह लिदा उत्तम हुन्छ । युट्युबमा आफुले पढ्न चाहेको विषयहरूको भिडियो हेर्ने वा त्यसबारे गूगलमा खोजेर समेत सकिन्छ । यस बाहेक कलेजमा गएर पनि विषयसँग सम्बन्धि विस्तृत ज्ञान लिन सकिन्छ ।