एप्पलले अहिलेसम्म आधिकारिक रूपमा फोल्डेबल आईफोन घोषणा नगरे पनि बजारमा यसबारे चर्चा तीव्र बनेको छ। विश्लेषक, आपूर्ति–श्रृंखला स्रोत र प्रविधि लिककर्ताहरूका अनुसार एप्पलको पहिलो फोल्ड हुने स्मार्टफोन सन् २०२६ को अन्त्यतिर सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ।
धेरै रिपोर्टहरूले यसलाई आईफोन १८ सिरिजसँगै लञ्च गरिने सम्भावना औंल्याएका छन्, यद्यपि अन्तिम निर्णय परिवर्तन हुन सक्ने बताइएको छ। ब्लुमबर्गका पत्रकार मार्क गुर्मन र विश्लेषक मिङ चिकोओले २०२६ लाई सम्भावित समयरेखा बताएका छन्।
तर हिन्ज वा डिस्प्ले जस्ता जटिल पक्षमा समस्या आए सन् २०२७ सम्म धकेलिन सक्ने सम्भावना पनि रहेको छ। एप्पलले पूर्ण रूपमा तयार नभएसम्म उत्पादन सार्वजनिक नगर्ने पुरानो रणनीति अपनाउने भएकाले ढिलाइको सम्भावना खुला नै छ।
कस्तो देखिन सक्छ ‘iPhone Fold’?
हालसम्मका विवरणअनुसार एप्पलले ‘बुक–स्टाइल’ डिजाइन रोजेको छ, जसरी सामसङ ग्यालेक्सी जेड फोल्ड सिरिजमा देखिन्छ। खोल्दा सानो ट्याब्लेटजस्तो, सम्भवतः ७.७–७.८ इन्चको भित्री स्क्रिन हुने र बन्द गर्दा करिब ५.५ इन्चको बाहिरी डिस्प्ले भएको सामान्य स्मार्टफोनजस्तो प्रयोग गर्न सकिने बताइएको छ।
मोटाइ खोल्दा करिब ४.५–५.६ मिमि र बन्द गर्दा ९–११ मिमि हुने अनुमान छ। केही रिपोर्टले आईफोन एयरको पातलो डिजाइनलाई भविष्यको फोल्डेबलको झल्कोका रूपमा व्याख्या गरेका छन्।
डिस्प्ले नै फोल्डेबल फोनको सबैभन्दा ठूलो चुनौती मानिन्छ। रिपोर्टअनुसार एप्पलले मुख्य आपूर्तिकर्ताका रूपमा सामसङ डिस्प्लेसँग सहकार्य गर्नेछ।
सीईएस २०२६ मा सामसङले प्रदर्शन गरेको ‘क्रिज–लेस’ ओएलईडी प्यानल एप्पलले प्रयोग गर्न सक्ने चर्चा छ। यसले फोल्ड गर्दा देखिने रेखा (क्रिज) न्यून वा अदृश्य बनाउने लक्ष्य राखेको छ।
फोल्डेबल आईफोनमा चार क्यामेरा हुने चर्चा छ । ४८ मेगापिक्सेल मुख्य र अल्ट्रा–वाइड रियर क्यामेरा हुनेछन् । बाहिरी स्क्रिनमा पन्च–होल क्यामेरा र भित्री स्क्रिनमा अन्डर–डिस्प्ले क्यामेरा हुनेछन् ।
रिपोर्टअनुसार यस मोडेलमा फेस आईडी हटाइने र पावर बटनमा आधारित टच आईडी प्रयोग गरिने सम्भावना छ। यसले दुवै स्क्रिनमा नच वा डाइनामिक आइल्यान्ड नराख्ने सुविधा दिन सक्छ।
हिन्जका लागि एप्पलले ‘Liquidmetal’ नामक धातु मिश्रधातु प्रयोग गर्न सक्ने बताइएको छ, जुन बलियो र टिकाउ मानिन्छ। यसले लामो समयसम्म फोल्ड गर्दा हुने क्षति कम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
ब्याट्री र मूल्य
फोल्डेबल आईफोनमा ५ हजारदेखि ५,८०० एमएएच क्षमताको उच्च–घनत्व ब्याट्री प्रयोग हुन सक्ने अनुमान छ, जुन हालसम्मकै सबैभन्दा ठूलो आईफोन ब्याट्री हुनेछ। साथै नयाँ ए सिरिज चिप र एप्पलकै इन–हाउस मोडेम प्रयोग गरिने सम्भावना छ।
मूल्यको कुरा गर्दा, यो एप्पलकै सबैभन्दा महँगो आईफोन हुने देखिएको छ। अमेरिकी बजारमा यसको मूल्य २ हजारदेखि २,५०० डलरबीच हुन सक्ने विश्लेषण छ।
यद्यपि एप्पलले हालसम्म ‘आईफोन फोल्ड’ नाम, अन्तिम डिजाइन, सफ्टवेयर अनुकूलन वा आधिकारिक समयरेखा पुष्टि गरेको छैन। आगामी दिनमा थप स्पष्ट विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।
आईसीटी समाचार