कीवर्डहरू -

रुसमा ह्वाट्सएप प्रतिबन्ध, १० करोड प्रयोगकर्तालाई असर

रुसमा ह्वाट्सएप प्रतिबन्ध, १० करोड प्रयोगकर्तालाई असर

रुस सरकारले मेसेजिङ सेवा ह्वाट्सएपलाई देशभर अवरुद्ध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सरकारी निकायहरूले एपलाई आधिकारिक अनलाइन डाइरेक्टरीबाट हटाएपछि यो सेवा प्रभावकारी रूपमा रुसको इन्टरनेटबाट हटाइएको मानिएको छ। यस कदमले करिब १० करोड प्रयोगकर्तामा प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ।

मातृ कम्पनी मेटाले भने यो निर्णयलाई नागरिकलाई राज्य-नियन्त्रित निगरानी एप प्रयोग गर्न बाध्य पार्ने प्रयास भएको बताएको छ। कम्पनीले निजी र सुरक्षित सञ्चारबाट लाखौँ मानिसलाई टाढा राख्नु सुरक्षाका लागि प्रतिकूल हुने चेतावनी दिएको छ। रुस सरकारले भने प्रयोगकर्तालाई आफ्नै विकसित ‘म्याक्स’ नामक एप प्रयोग गर्न प्रोत्साहन दिँदै आएको छ।

यसैबीच रुसले प्रतिस्पर्धी मेसेजिङ सेवा टेलिग्राम, साथै फेसबुक र इन्स्टाग्राम समेत हटाइसकेको छ। भिडियो प्लेटफर्म युट्युबको पहुँच पनि कमजोर बनाइएको खबर सार्वजनिक भएपनि पूर्ण रूपमा बन्द गरिएको हो वा होइन भन्ने स्पष्ट छैन।

गत वर्ष सूचना प्रविधि क्षेत्र नियमन गर्ने एक रुसी सांसदले व्हाट्सएपलाई प्रतिबन्धित सफ्टवेयरको सूचीमा राखिने सम्भावना उच्च रहेको बताएका थिए। रुसले मेटालाई ‘अतिरेकी संगठन’ घोषणा गरिसकेको छ, र राष्ट्रपति भ्लादमिर पुटिनले ‘अमित्र राष्ट्र’बाट आएका सञ्चार एपहरूमा थप कडाइ गर्न निर्देशन दिएका थिए।

सरकारले आफ्नै एप प्रयोग गर्दा ठगी र आतंकवादबाट नागरिक सुरक्षित हुने दाबी गरे पनि टेलिग्राममाथिको प्रतिबन्धले देशभित्र आलोचना बढेको छ। विशेष गरी युक्रेन सीमावर्ती क्षेत्रका बासिन्दाले ड्रोन र क्षेप्यास्त्र चेतावनीका लागि टेलिग्राममा निर्भर रहेकाले सूचना प्रवाह प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ।