यो कपडा मलाई सुहाउँछ कि सुहाउँदैन? तयार हुने बेलामा हरेक व्यक्तिको मनमा यही प्रश्न घुमिरहन्छ। यदि एकपटक आफ्नै आँखाले आफूलाई कपडामा सजिएको देख्न पाइयो भने छनोट सजिलो हुने थियो। यही कारण मानिसले ऐनाको सहारा लिन्छन् र लुगा किन्दा ट्रायल रुम प्रयोग गर्ने चलन अझै पनि नेपालमा कायम छ।
यही आवश्यकतालाई अनावश्यक बनाउने उद्देश्यसहित विकसित गरिएको एआइ प्लेटफर्म हो— ‘मिरागो’, एक भर्चुअल ट्रायल रुम।
एआई प्रविधिमा आधारित यस प्लेटफर्ममा प्रयोगकर्ताले आफ्नो फोटो र मनपरेको लुगाको फोटो वा स्क्रिनसट अपलोड गर्नुपर्छ। त्यसपछि एआइले स्वतः प्रयोगकर्ताको फोटोमा उक्त लुगा फिट गरेर नयाँ तस्बिर जेनेरेट गरिदिन्छ।
यसले प्रयोगकर्तालाई आफूलाई सुहाउने लुगा छान्न सहज बनाउनुका साथै अनलाइन सपिङपछि हुने निराशा घटाउन सहयोग गर्छ। अनलाइनमा मनपरेको लुगा किनेपछि नसुहाउने वा मन नपर्ने समस्या अब एकैपटक समाधान हुने मिरागोका निर्माणकर्ताहरूको विश्वास छ। फर्मल, विवाह, पार्टी वा अन्य कुनै पनि अवसरका लागि पहिरन छनोट गर्न र आफ्नै स्टाइल पहिचान गर्न मिरागो उपयोगी बन्ने अपेक्षा गरिएको छ।
प्लेटफर्म निर्माणकर्ताका अनुसार, नेपालमै विकसित यो भर्चुअल एआइ प्लेटफर्म केवल नेपाली बजारका लागि मात्र नभई विश्वव्यापी रूपमा प्रयोगयोग्य बन्ने सम्भावना बोकेको छ। विद्यार्थी, कर्पोरेट कर्मचारी, कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर तथा आम प्रयोगकर्तालाई लक्षित मिरागोले ड्रेसिङ अनुभवलाई अझ सहज र रोचक बनाउनेछ।
मिरागो प्ले स्टोर र एप स्टोर दुवैबाट डाउनलोड गर्न सकिनेछ भने वेबमार्फत पनि प्रयोग गर्न सकिन्छ। अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नु अघि पहिलो चरणमा नेपालमै सार्वजनिक गरिएको यस प्लेटफर्मको युजर इन्टरफेस नेपाली प्रयोगकर्तालाई प्राथमिकतामा राखेर डिजाइन गरिएको छ।
निर्माणकर्ताहरू भन्छन्, नेपालमा बनेको प्लेटफर्मले पनि अन्तर्राष्ट्रिय स्तरको टेक्नोलोजी र उत्कृष्ट युजर इन्टरफेस दिन सक्छ भन्ने कुरा मिरागोले प्रमाणित गर्नेछ।
कहाँ जाँदा के लगाउने, कस्तो लुगा किन्ने वा नकिन्ने भन्ने सबै निर्णय अब एउटै प्लेटफर्मबाट गर्न सकिनेछ। साथै, प्रयोगकर्ताको गोपनीयता र डाटा सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको उनीहरूको दाबी छ।
आईसीटी समाचार