निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले म्याग्दी–१ बाट प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। यसअघि चुनाव नलड्ने सार्वजनिक अभिव्यक्ति दिएका पुनको उम्मेदवारीले राजनीतिक वृत्तमा चासो पैदा गरेको छ।
महावीर पुनका अनुसार शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा आमूल सुधार नगरी देशलाई समृद्धिको बाटोमा लैजान नसकिने निष्कर्षमा पुगेपछि आफू चुनावी मैदानमा उत्रिन बाध्य भएको बताएका छन्।
मन्त्री पदमा रहँदा आफूले अघि सारेका ३ वटा अध्यादेश र ४ वटा नियमावली राष्ट्रपति कार्यालय र विधान समितिबाट स्वीकृत भएको भए आफू चुनाव नलड्ने स्पष्ट धारणा पुनले राखेका छन्।
उनले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राखेर छुट्टै बलियो मन्त्रालय गठन गर्ने प्रस्ताव पनि अघि सारेका थिए। तर उक्त प्रस्ताव मुख्य सचिवका कारण रोकिएपछि आफूमा निराशा र आक्रोश पैदा भएको पुनको भनाइ छ।
यही कारणले म्याग्दी फर्किएर स्वतन्त्र रूपमा चुनाव लड्ने निर्णय गरेको उनले बताएका छन् । ‘शिक्षा र प्रविधिमा सुधार नगरी देश अघि बढ्दैन। मैले ल्याउन खोजेको संरचनागत सुधार रोकिएपछि अब संसद्मा पुगेर नै लड्नुपर्छ भन्ने लाग्यो,’ पुनको भनाइ छ।
उम्मेदवारी दर्ता गरेसँगै महावीर पुन म्याग्दीमा चुनावी प्रचारप्रसारमा जुटेका छन्। उनले आफ्नो अभियानलाई दलगत राजनीतिभन्दा माथि उठेर शिक्षा, विज्ञान र नवप्रवर्तनमार्फत देश निर्माण गर्ने आन्दोलनका रूपमा चित्रण गरेका छन्।
आईसीटी समाचार