कीवर्डहरू -

रूसमाथि ड्रोन हमला गर्न युक्रेनले किन प्रयोग गर्‍यो २० वर्ष पुरानो सफ्टवेयर ?

रूसमाथि ड्रोन हमला गर्न युक्रेनले किन प्रयोग गर्‍यो २० वर्ष पुरानो सफ्टवेयर ?

युक्रेनले हालै रूसभित्र ‘स्पाइडर वेब’ नामक एक व्यापक एआई ड्रोन आक्रमण सञ्चालन गरेको छ । यस समन्वित ड्रोन हमलाले बेलाया, ओलेन्या र इभानोभोमा रहेका रूसी वायुसैनिक अड्डाहरूमा तैनाथ स्ट्रैटेजिक लंग-रेञ्ज  बमवर्षक विमानमध्ये एक तिहाइभन्दा बढी नष्ट गरिदिएको छ ।

यी सबै अड्डाहरू फ्रन्टलाइनबाट धेरै टाढा, रूसी क्षेत्र भित्र रहेका थिए । एक नयाँ रिपोर्टका अनुसार, युक्रेनले यो अपरेशन सम्पन्न गर्न लगभग २० वर्ष पुरानो ओपन–सोर्स अटोपायलट सफ्टवेयरको प्रयोग गरेको थियो ।

४०४ मिडियाको रिपोर्ट अनुसार यो हमला आर्डुपायलटबाट सञ्चालित थियो, जुन एक निःशुल्क सफ्टवेयर प्रणाली हो, र जुन सुरुमा रिमोट–कन्ट्रोल विमानहरूका लागि विकास गरिएको थियो ।आर्डुपायलट सन् २००७ मा वायर्ड का पूर्व सम्पादक–इन–चीफ क्रिस एन्डरसन द्वारा सुरु गरिएको थियो, जसले यसको पहिलो संस्करण लेगो माइन्डस्टोम्र्स किट प्रयोग गरेर बनाएका थिए ।

पछि एन्डरसनले जोरडी मुन्नोज र जेसन शर्टसँग मिलेर यस प्रोजेक्टलाई अझ सुधार गरे, जसले पछि एउटा कम्युनिटी–ड्रिभन स्वचालित ड्रोन फ्लाइट प्लेटफर्मको रूपमा विकास गर्‍यो । हमलापछि एन्डरसनले एक लिंक्डइन पोस्टमार्फत खुलासा गरे कि आर्डुपायलट सफ्टवेयर यस अपरेशनमा प्रयोग गरिएको थियो ।

मूल रूपमा आर्डुइनो हार्डवेयरका लागि डिजाइन गरिएको आर्डुपायलट अहिले एक बलियो प्लेटफर्म बनिसकेको छ, जसले ड्रोन, बोट, सबमरीन र यहाँसम्म कि रोभरहरूलाई पनि नेभिगेट गर्न सक्छ ।

यसले ड्रोन पाइलटहरूलाई जीपीएस मार्गनिर्देशन, स्वचालित टेक–अफ र ल्यान्डिङ तथा उडानको स्थिरता कायम राख्ने सुविधा दिन्छ । हालैको युद्धमा यसको प्रयोगले देखाएको छ कि, यद्यपि यो सफ्टवेयर मूलतः शान्तिपूर्ण र मनोरञ्जनका उद्देश्यहरू, जस्तै खोज तथा उद्धार, कृषि कार्य वा थ्रीडी म्यापिङका लागि बनाइएको थियो, यसको सैन्य प्रयोग पनि सम्भव छ ।

आर्डुपायलटको वेबसाइटमा उल्लेख गरिएको छ कि यसलाई एक विश्वव्यापी समुदायले मर्मत र विकास गर्छ र यसको केन्द्र ‘शान्तिपूर्ण प्रयोग’मा केन्द्रित छ । यसको उद्देश्य सबैका लागि उपयोगी प्रविधि विकास गर्नु हो र यसले सचेत रुपमा सैन्यिकरणको समर्थन गर्दैन् । तर, ओपन–सोर्स भएकोले, जसले पनि यो सफ्टवेयरलाई स्वतन्त्र रूपमा परिमार्जन वा पुनःउपयोग गर्न सक्छ ।

युक्रेनको ‘स्पाइडर वेब’ अपरेशनका भिडियो फुटेजहरू अनलाइनमा शेयर गरिएको छ, जहाँ ड्रोनहरू आर्डुपायलट प्रयोग गरिरहेको देखिन्छ । रिपोर्ट अनुसार, युक्रेनको सुरक्षा सेवाले क्वाडकप्टरहरूलाई रूसी क्षेत्रमा ट्रक र गोदामहरूमा लुकाएर तस्करी गरेको छ । ट्रिगर भएपछि, ती लुकाइएका बाकसहरूको ढोका खुल्यो र विस्फोटकले भरिएका ड्रोनहरू प्रक्षेपण गरियो ।

धेरै रिपोर्टहरूले देखाउँछन् कि स्टारलिंक जस्ता स्याटेलाइट प्रणालीहरूको सट्टा, जुन प्रायः ज्याम वा ट्र्याक गर्न सकिन्छ, यी साना ड्रोनहरूले रूसी मोबाइल नेटवर्कहरू प्रयोग गरेर संचार गरे, जसमा रास्पबेरी पाई जस्ता बोर्डहरू र साधारण मोडेमहरू प्रयोग गरिएका थिए ।

अपरेशनको क्रममा, ओपन–सोर्स आर्डुपायलट सफ्टवेयरले उच्च लेटेन्सी भएता पनि ड्रोनहरूको स्थिरता र फ्लाइट कन्ट्रोल कायम राख्न सहयोग पुर्‍याएको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यस अपरेशनमा ११७ ड्रोन प्रयोग गरिएको र यो हमला एक वर्षभन्दा बढी समयदेखि योजनामा रहेको खुलासा गरेका छन् । 

उनी एक्समा लेख्छन्,‘हवाई अड्डामा तैनाथ ३४ प्रतिशत रणनीतिक क्रुज मिसाइल क्यारियरहरूलाई निशाना बनाइएको थियो । हाम्रा सुरक्षाकर्मीहरूले रूसका विभिन्न क्षेत्रहरूमा तीन फरक टाइम जोनहरूमा अपरेशन सञ्चालन गरेका छन् । जसले हाम्रो सहयोग गरे, ती सबैलाई अपरेशन अघि रूसी क्षेत्रबाट निकालिएको थियो; उनीहरू अहिले सुरक्षित छन् ।’