कीवर्डहरू -

पासवर्ड म्यानेजर किन प्रयोग गर्ने ?

पासवर्ड म्यानेजर किन प्रयोग गर्ने ?

डिजिटल युगमा विभिन्न किसिमका अकाउन्ट बनाउनु पर्ने हुन्छ । सबै अकाउन्टका पासवर्ड सम्झन गार्‍हो हुन्छ ।

यस्तो अवस्थामा पासवर्ड म्यानेजरमा आफ्नो अकाउन्टको क्रेडेन्सियल सेभ गरेर राख्न सक्नुहुन्छ । यसले लगइन अनुभवलाई अझ सहज र सरल बनाउँछ ।

यसले पासवर्ड सुरक्षित रूपमा राख्न मात्रै होइन, यूनिक पासवर्ड सिर्जना गर्न, स्टोर गर्न र व्यवस्थापन गर्नमा पनि मद्दत गर्दछ ।  

किन पासवर्ड म्यानेजर प्रयोग गर्ने ?  

पासवर्ड म्यानेजरका धेरै फाइदाहरू छन् । धेरै अकाउन्टहरूमा एउटै पासवर्ड राख्नु उपयुक्त हुँदैन् र अकाउन्ट पिच्छे फरक फरक पासवर्ड राख्दा सम्झिन गार्‍हो हुन्छ । यस्तो अवस्थामा पासवर्ड म्यानेजर काम लाग्छ ।

पासवर्ड चुहावट (जब वेबसाइटहरू ह्याक हुन्छन् र प्रयोगकर्ताको डेटा चोरी गरिन्छ) अहिले सामान्य विषय बनेको छ । यदि ह्याकरहरूले तपाईंको लगइन क्रेडेन्सियल्स प्राप्त गरे भने, उनीहरूले तिनलाई अन्य वेबसाइट वा अकाउन्टहरूमा प्रयोग गर्न सक्छन् । यहाँ पासवर्ड म्यानेजर उपयोगी हुन्छ । यो पासवर्डलाई सुरक्षित रूपमा स्टोर गर्छ, ताकि तपाईंले सम्झनु नपरोस् । तपाईंले केवल पासवर्ड म्यानेजरको मास्टर पासवर्ड सम्झनु पर्छ ।  

यो कसरी काम गर्छ?  

सबैभन्दा पहिले मास्टर पासवर्ड सेट गर्नुपर्छ । यो डिजिटल भल्ट खोल्न प्रयोग गरिन्छ, जहाँ सबै पासवर्डहरू स्टोर हुन्छन् । पासवर्ड म्यानेजरले पासवर्ड मात्र होइन, तपाईंको व्यक्तिगत जानकारी जस्तै नाम, ठेगाना, क्रेडिट कार्ड विवरण आदिलाई पनि सुरक्षित रूपमा सम्झन्छ ।  

के पासवर्ड म्यानेजर सुरक्षित हुन्छ?  

केही पासवर्ड म्यानेजरहरू ह्याक हुन सक्छन्, तर यदि तिनीहरूले एन्क्रिप्सन प्रविधि (जस्तै एईएस–२५६) प्रयोग गर्छन् भने यो जानकारी ह्याक गर्नु लगभग असम्भव हुन्छ । जब तपाईं पासवर्ड सेव गर्नुहुन्छ, पासवर्ड म्यानेजरले त्यस डाटालाई सुरक्षित राख्न एन्क्रिप्सन एल्गोरिदमको प्रयोग गरेर एन्क्रिप्ट गर्छ । केवल मास्टर पासवर्डबाट मात्र यो डिक्रिप्ट गर्न सकिन्छ ।

 पासवर्ड म्यानेजर कसरी छान्ने? 

पासवर्ड म्यानेजर छान्दा यसले बलियो एन्क्रिप्सन प्रयोग गर्छ कि गर्दैन भनेर ध्यान दिनुहोस् । यदि तपाईं पासवर्ड बिर्सनुहुन्छ भने, लकआउट फीचरले पासवर्ड रिसेट गर्न सहयोग गर्न सक्छ ।  

सफ्टवेयरले पहिचान चोरीबाट बच्न सुरक्षा उपाय प्रदान गर्छ कि गर्दैन जाँच गर्नुहोस् ।  

पासवर्ड म्यानेजर तपाईंको डिभाइस र ब्राउजरसँग सहजै काम गर्छ कि गर्दैन सुनिश्चित गर्नुहोस् ।   

केही पासवर्ड म्यानेजरहरूको लागि शुल्क तिर्नु पर्छ, तर केही निःशुल्क पनि उपलब्ध छन्, जसलाई तपाईं परीक्षणका रूपमा डाउनलोड गर्न सक्नुहुन्छ ।  

केही वेब ब्राउजरमा इनबिल्ट पासवर्ड म्यानेजरहरू हुन्छन्, तर यी प्रायः प्रभावकारी हुँदैनन्, किनभने यी पासवर्डलाई अनएन्क्रिप्टेड फार्ममा स्टोर गर्छन् । यसको मतलब कम्प्युटरको हार्ड ड्राइभ एन्क्रिप्टेड छैन भने, कुनै पनि पासवर्ड फाइलहरू सजिलै एक्सेस गर्न सकिन्छ ।  

 पासवर्ड म्यानेजरको सूची

– लास्टपासः विन्डोज, म्याक, आईओएस र एन्ड्रोइडलाई सपोर्ट गर्छ। यो सब्सक्रिप्सन मोडलमा आधारित छ ।  
– ड्यासलेनः यो विन्डोज, म्याक, आईओएस र एन्ड्रोइडलाई सपोर्ट गर्छ। यो फ्री र प्रिमियम भर्सनमा उपलब्ध छ ।  
– बिटवार्डेनः लिनक्स, विन्डोज, म्याक, आईओएस र एन्ड्रोइडलाई सपोर्ट गर्छ । फ्री र प्रिमियममा उपलब्ध छ ।  
– कीपरः विन्डोज, म्याक, आईओएस र एन्ड्रोइडको लागि । प्रिमियम सब्सक्रिप्सनमा आधारित ।  

– नर्डपासः विन्डोज, म्याक, आईओएस र एन्ड्रोइडलाई सपोर्ट गर्छ । यो फ्री र प्रिमियममा उपलब्ध छ ।