विश्वकै धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति ५०० अर्ब डलर पुगेको छ । बुधबार मस्कको जम्मा सम्पत्ति आधा ट्रिलियन डलर अर्थात् ५०० अर्ब डलर पुगेको छ।
फोर्ब्सको ‘रियल-टाइम बिलियनेयर्स’ अनुसार, बुधबार दिउँसो ३:३० बजे मस्कको कुल सम्पत्ति ५०० अर्ब डलर पुगेको थियो। तर आज घटेर ४८२ अर्ब डलर रहेको छ ।
मस्कले डिसेम्बर २०२४ मा पहिलो व्यक्ति भएर ४०० अर्ब डलरभन्दा बढी सम्पत्ति राख्ने कीर्तिमान बनाएका थिए। विश्वकै दोस्रो धनी व्यक्तिका रूपमा ल्यारी एलिसन रहेका छन्, जसको सम्पत्ति ३४६ अर्ब डलर रहेको छ ।
पछिल्लो पाँच वर्षमा मस्कले दर्जनौं आर्थिक माइलस्टोन पूरा गरेका छन्। उनको कुल सम्पत्ति मार्च २०२० मा २४.६ अर्ब डलर, अगस्ट २०२० मा १०० अर्ब डलर, जनवरी २०२१ मा १९० अर्ब डलर, सेप्टेम्बर २०२१ मा २०० अर्ब डलर, नोभेम्बर २०२१ मा ३०० अर्ब डलर र डिसेम्बर २०२४ मा ४०० अर्ब डलर पुगेको थियो ।
मस्क अब विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्ति भएको व्यक्ति बन्ने बाटोमा छन् । मस्कको गति यसरी नै रह्यो भने मार्च २०३३ अघि विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्ति भएका व्यक्ति बन्न सक्नेछन् ।