एलन मस्कका तीन कम्पनी स्पेसएक्स, एक्सएआई (xAI) र टेस्लाबीच सम्भावित मर्जरको चर्चा सुरू भएको छ । ब्लूमबर्ग र रोयटर्सका अनुसार प्रारम्भिक चरणमै देखिने यी छलफलहरूले अन्ततः कम्तीमा एउटा कम्पनी स्पेसएक्समा विलय हुने सम्भावना देखाएका छन्।
हाल दुई सम्भावित परिदृश्यमा छलफल भइरहेको छ। पहिलोमा, स्पेसएक्स र टेस्ला आपसमा मर्ज हुन सक्ने सम्भावना रहेको ब्लूमबर्गले आन्तरिक स्रोतको हवाला दिँदै जनाएको छ।दोस्रो परिदृश्यमा भने स्पेसएक्स र एक्सएआई (जसले मस्कको सामाजिक सञ्जाल एक्स पनि स्वामित्वमा लिएको छ) एकआपसमा गाभिन सक्ने चर्चा छ।
रोयटर्सको रिपोर्ट अनुसार, स्पेसएक्सको यसै वर्ष सम्भावित आईपीओ अघि नै स्पेसएक्स र एक्सएआईबीच मर्जर हुन सक्छ। यस्तो भएमा ग्रोक च्याटबोट, एक्स प्लेटफर्म, स्टारलिङ्क स्याटेलाइट र स्पेसएक्सका रकेटहरू एउटै कर्पोरेट संरचना अन्तर्गत आउनेछन्।
यद्यपि, स्पेसएक्स र एक्सएआईका प्रतिनिधिहरूले सार्वजनिक रूपमा यस सम्भावनाबारे कुनै प्रतिक्रिया दिएका छैनन्। तर हालै सार्वजनिक भएका कागजातअनुसार जनवरी २१ मा नेभाडामा दुई नयाँ कर्पोरेट इकाइ—K2 Merger Sub Inc. र K2 Merger Sub 2 LLC—दर्ता गरिएको छ। यसले मस्कले सबै विकल्प खुला राखेको संकेत गर्छ।
दुवै सम्भावित मर्जरका आफ्नै फाइदा देखिन्छन्। स्पेसएक्स र एक्सएआईको संयोजनले एक्सएआईका डाटा सेन्टरलाई अन्तरिक्षमा राख्ने मस्कको महत्वाकांक्षी योजनालाई साकार पार्न सहयोग पुर्याउन सक्छ।
त्यस्तै, स्पेसएक्स र टेस्ला मर्जर भएमा टेस्लाको ऊर्जा भण्डारण व्यवसायलाई अन्तरिक्षमा आधारित डाटा सेन्टर अवधारणासँग जोड्न सकिने देखिन्छ।
यी दुवै विकल्प र सम्भावित रूपमा तीनै कम्पनीको संयोजन मस्कको हालको रणनीतिसँग मेल खान्छन्, जसमा उनले कम्पनीहरूबीच स्रोत साझा गर्ने वा एकीकृत गर्ने प्रयास गरिरहेका छन्।
गत वर्ष स्पेसएक्सले एक्सएआईमा २ अर्ब अमेरिकी डलर लगानी गर्ने सहमति गरेको द वाल स्ट्रिट जर्नलले जनाएको थियो। यसै साता टेस्लाले पनि एक्सएआईमा २ अर्ब डलर लगानी गरेको खुलासा गरेको छ।
गत वर्ष एक्सएआईले सामाजिक सञ्जाल एक्स खरिद गरेको थियो, जसमा मस्कले एक्सएआईको मूल्य ८० अर्ब डलर र एक्सको मूल्य ३३ अर्ब डलर आँकलन गरेका थिए।
सन् २००२ मा स्थापना भएको स्पेसएक्सले हालै गरेको सेकेन्डरी सेयर बिक्रीमार्फत आफ्नो मूल्यांकन करिब ८०० अर्ब डलर पुगेको बताइएको छ, जसले यसलाई अमेरिकाकै सबैभन्दा मूल्यवान निजी कम्पनी बनाएको छ।
आईसीटी समाचार