आजकाल ईयरफोनहरू केवल गीत सुन्ने साधनमा सीमित रहेनन्, बरु हाम्रो दैनिकीको अनिवार्य हिस्सा बनिसकेका छन्। अफिसका लामो मिटिङ तथा कल अटेन्ड गर्न, अनलाइन कक्षा लिन, गेमिङको मजा उठाउन वा जिममा कडा वर्कआउट गर्न — ईयरफोनहरू प्रायः हरेक अवस्थामा साथमै हुन्छन्।
तर समस्या तब सुरु हुन्छ, जब हामी आफ्नै आवश्यकतालाई बुझ्नुको साटो बजारमा चलिरहेका ट्रेन्डका पछि लागेर किन्ने निर्णय गर्छौं। धेरैजसो मानिसहरू देखावटी र फेसनेबल देखिने भन्दै वायरलेस ईयरबड्सतर्फ आकर्षित हुन्छन्, जबकि उनीहरूको वास्तविक प्रयोगका लागि वायर्ड ईयरफोन नै उपयुक्त हुन सक्छ। त्यसैले सही छनोट गर्न तार भएका र ताररहित ईयरफोनबीचको वास्तविक फरक बुझ्नु अत्यन्तै आवश्यक छ।
आजको प्रविधि बजारमा वायर्ड ईयरफोनलाई ‘आउटडेटेड’ भनिए पनि यसको उपयोगिता अझै घटेको छैन। यसको सबैभन्दा ठूलो फाइदा भनेको चार्ज सकिने झन्झट नहुनु हो — फोनसँग जोडियो र तुरुन्त प्रयोग सुरु। अडियो गुणस्तरको हिसाबले पनि कम बजेटमै वायर्ड ईयरफोनहरूले वायरलेसको तुलनामा स्थिर र स्पष्ट आवाज दिन्छन्। विशेष गरी अनलाइन अध्ययन, अफिस मिटिङ र प्रोफेशनल कलका लागि यी बढी भरपर्दा मानिन्छन्, किनभने कनेक्टिभिटी टुट्ने जोखिम न्यून हुन्छ। यद्यपि तार अल्झिने समस्या र केही नयाँ स्मार्टफोनमा हेडफोन ज्याक नहुनु यसको प्रमुख कमजोरी हुन्।
अर्कोतर्फ, आजका युवामाझ वायरलेस ईयरफोन वा ट्रु वायरलेस स्टेरियो (TWS) अत्यन्तै लोकप्रिय छन्। ताररहित डिजाइनले हिँड्दा, दौडिँदा वा वर्कआउट गर्दा सहजता दिन्छ। यी देखिनमा स्टाइलिश हुन्छन् र सानो केसमा सजिलै राख्न सकिन्छ।
तर सुविधा सँगसँगै केही जोखिम पनि छन्। धेरैजसो प्रयोगकर्ताहरू सस्तो वायरलेस ईयरफोन रोज्छन्, जसको ब्याट्री लाइफ कमजोर हुन्छ, साउन्ड क्वालिटी अपेक्षित हुँदैन र बारम्बार कनेक्शन टुट्ने समस्या देखिन्छ। साथै, स-साना आकारका कारण हराउने सम्भावना पनि उत्तिकै हुन्छ, र केस हराएमा ईयरफोन नै प्रयोग नलायक बन्न सक्छ।
त्यसैले ईयरफोन किन्नुअघि आफ्नो जीवनशैली र प्रयोग गर्ने तरिकालाई राम्ररी मूल्याङ्कन गर्नु जरुरी छ। यदि तपाईं विद्यार्थी हुनुहुन्छ र लामो समय पढाइ वा अनलाइन कक्षामा बिताउनुहुन्छ, वा तपाईं प्रोफेशनल हुनुहुन्छ र दिनभर कलमै व्यस्त रहनुहुन्छ भने, वायर्ड ईयरफोन किफायती र टिकाउ विकल्प हुन सक्छ।
तर तपाईं धेरै यात्रा गर्नुहुन्छ, सक्रिय जीवनशैली अपनाउनुहुन्छ वा जिममा नियमित वर्कआउट गर्नुहुन्छ भने, राम्रो गुणस्तरको वायरलेस ईयरफोन तपाईंका लागि उपयुक्त हुन्छ। अन्ततः, ईयरफोन किन्दा केवल मूल्य वा देखावटी पक्षमा नअल्झिई, साउन्ड क्वालिटी, ब्याट्री ब्याकअप र आफ्नो दैनिक प्रयोगबीच सही सन्तुलन खोजेर निर्णय लिनु बुद्धिमानी हुनेछ।
आईसीटी समाचार