कीवर्डहरू -

‘आईटी कम्पनीमा महिलाले फरक दृष्टिकोण लिएर आउँछन्, प्रोत्साहन गर्नुपर्छ’

‘आईटी कम्पनीमा महिलाले फरक दृष्टिकोण लिएर आउँछन्, प्रोत्साहन गर्नुपर्छ’

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा महिलाहरूको सहभागीता थोरै छ । सूचना प्रविधिमा महिला (डब्लुआईआईटी) संस्थाले हालै गरेको अध्ययनमा पनि आइसिटी कम्पनीहरूमा काम गर्ने महिलाहरूको संख्या ७.८ प्रतिशत मात्रै देखाएको छ । यो संख्या वृद्धि सुरूमा हामीले ट्यालेन्ट पुल बढाउनु पर्छ ।

छोटो, मध्यम र दीर्घकालीन गरी योजना बनाएर ट्यालेन्ट पुल बढाउन सकिन्छ । छोटो अवधिको कुरा गर्दा विज्ञान प्रविधि पढेर रोजगारी नपाएका, ड्रपआउट र अन्य क्षेत्रबाट आईटीमा आउन चाहने महिलाहरूलाई अपस्किलिङको तालिम दिएर जनशक्ति तयार पार्न सकिन्छ । 

आईटी क्षेत्रमा आईटी नपढेकाहरूले पनि सीप सिकेर काम गरिरहेका छन् । आईटीमा आउनलाई सीप भए पुग्छ डिग्री नै चाहिदैन् । सन् २०२२ मा आईआईडीएसले गरेको अध्ययनमा पनि आईटीमा भएको ३५ प्रतिशत जनशक्ति अन्य क्षेत्रबाट आएको देखाएको थियो । 

अब मिडियम टर्ममा हेर्ने हो भने टेन प्लस टु गरेपछि करियर काउन्सिलिङ गरेर महिलाहरूलाई आईटीमा प्रेरित गर्न सकिन्छ । काउन्सलिङ गर्दा वुमनको कम्पिटेटिभ एडभान्टेज र योगदान दिन सक्ने कुराहरू बुझाउनु पर्छ । यो समयमा हामीले रोल मोडलहरू पनि देखाउनु पर्छ । आईटी क्षेत्रमा राम्रो काम गरिरहेका महिलाहरूको कथा सबैलाई सुनाउनु पर्छ । 

सरकारले पनि करियर काउन्सिलिङसँगै छात्रवृत्तिको व्यवस्था गर्नुपर्छ, जसले महिलाहरूलाई यो क्षेत्रमा ल्याउन प्रेरित गरोस् । दीर्घकालीनमा माइन्डसेटदेखि कल्चरसम्मको कुरा आउँछ । हामीले विद्यालय तहदेखि नै आईटी शिक्षा जोड्नु पर्छ । सानैदेखि आईटी सिकाउनु पर्छ । 

प्रविधिमा हामीले गर्न सक्छौं । प्रयाक्टिकलमा जोड दिनुपर्छ । सानै देखि नै आईटीमा आउने पुल बढायौ भने विशेष गरी महिलाहरूलाई सजिलो हुन्छ । 

प्रोत्साहनको खाँचो

महिलाको कम्पिटेटिभ एडभन्टेजेजहरु के हो ? उहाहरुले के गर्न सक्नुहुन्छ ? यो कोणबाट हामी अवेयर हुनुपर्छ । निजी क्षेत्रले पनि सीपयुक्त जनशक्ति आए हामी लिन्छौं भनिरहनु भएको छ । सरकारले पनि प्रविधिमा काम गर्ने वा गर्न चाहने महिलाहरूका लागि केही सहुलियतको व्यवस्था गर्न सक्छ । 

महिलाहरूलाई आईटी क्षेत्रमा काम गर्न धेरै बाधाहरू पनि छन् । रातिसम्म कार्यालयमै बसेर काम गर्नु पर्ने अवस्था पनि छ । त्यो ग्रुपमा टिम वर्क भएर काम गर्नु पर्छ । तर अब यसलाई हामीले अलिकति न्यारेटिभ पनि चेन्ज गर्नु पर्छ जस्तो लाग्छ । 

आईटी क्षेत्रमा काम गर्नलाई कार्यालय नै जानुपर्छ भन्ने छैन् । घरबाटै पनि काम गर्न सकिन्छ । बस्, काम गर्नलाई डिभाइस र इन्टरनेट भए पुग्छ, जहाँबाट पनि काम गर्न सकिन्छ । त्यस्तो कुराहरुलाई बढी फोकस गर्नुपर्छ जस्तो लाग्छ । 

महिलालाई काम गर्नलाई चुनौती त छ नै । दिनभरि कार्यालयको काम गर्‍यो, फेरि बेलुका घरको काम गर्नु पर्ने छ । यो कल्चरल माइन्डसेटलाई हामीले परिवर्तन गर्नुपर्छ ।  यसका लागि केही समय लाग्छ ।

शर्ट टर्ममा आइटी सेक्टर महिलाका लागि कन्डिसिभ छ । यो चाहिँ एकदम राम्रो क्षेत्र हो । फेलेक्जिबिलिटी पनि छ । नेपालको कन्टेक्स्टमा ‘पे ग्याप’ पनि एकदम कम देखिएको छ । अन्य क्षेत्रमा जस्तो धेरै पे ग्याप छैन् । 

यो हाम्रो लागि सुखद हो । यसले आईटीमा लाग्न महिलाहरूलाई प्रोत्साहन गर्छ । बाधाहरू एकैचोटी ‘डाउन द लाइन’ जादैनन् । बच्चाहरू भइसकेपछि आईटी क्षेत्रको काममा आउन महिलाहरूलाई समस्या नै छ । आईटी क्षेत्र एकदमै गतिशील छ । छिटो छिटो परिवर्तन भइरहन्छ । 

ब्रेकबाट ‘ब्याक टु वर्क’ आउँदा विभिन्न कुराहरू अप्सोलिट भइसकेको हुन्छ । ब्रेकबाट आउँदा ‘कलिगहरू’ आफु भन्दा सिनियर र बढी अनुभवी भइसक्ने अवस्था आउने गरेको अध्ययनको क्रममा महिलाहरूले शेयर गर्नुभएको थियो । 

यो क्षेत्रमा फेलेक्जिबिलिटी छ । अझै फेलेक्जिबिलिटी दियौं भने धेरै महिलालाई आकर्षित गर्न सकिन्छ । तर आईटी क्षेत्रमा सबैभन्दा ठूलो खाँचो प्रोत्साहनको छ । घर, परिवार, समाज र सरकारबाट प्रोत्साहन हुनुपर्छ ।

घरबाटै राम्रो आईटी शिक्षा दिने वातावरण तयार भयो भने त्यसले महिलाको आत्मविश्वास बढाउँछ । आईटीमा क्षेत्रमा यसअघि पनि महिलाहरू आएर राम्रो काम गरिरहनु भएको छ । त्यसले पनि आउन चाहनेको आत्मविश्वास बढाउँछ ।

एउटा भ्याकेन्सी अनाउन्स भयो अनि त्यो अनाउन्स हुँदा चाहिँ पुरूष क्यान्डिडेटले ५० प्रतिशत मात्र एलिजिबिलिटी छ भने उसले एप्लाई गर्छ रे तर महिलाले चाहिँ ११५ प्रतिशत भयो भने पनि गर्दैन भनेर भनिन्छ । यो मनोवैज्ञानिक परिवर्तन गर्न सानैदेखि हामीले काम गर्नुपर्छ । 

अर्को कुरा यो पुरूषको करियर, यो महिलाको करियर भनेर जुन छुट्याइएको छ । स्कूलको किताबहरूमा लेखिएको छ । त्यो कुराहरु देखि नै हटाउनु पर्छ । 

प्रोत्साहनको कुरा गर्दा सरकारले आइटी पढ्न चाहने महिलाहरूलाई छुट्टै स्कलरसीपको व्यवस्था गर्न सक्छ । निजी क्षेत्रले पनि अलिकति खुला भएर अनकन्सियस बायसलाई हटाउनु पर्छ । महिलाले फरक दृष्टिकोण ल्याएर आउँछन् भनेर बुझ्नुपर्छ । कम्पिटटिभ एडभन्टेजे केलाउनु पर्छ ।  

यदी महिला टिममा हुनुभयो डाइभर्स पर्सपेक्टिभहरु आउँछ । इनोभेसनमा उहाँहरुले योगदान गर्न सक्नुहुन्छ । पुरूषको तुलनामा महिला रिलायबल र स्टेबल रहेको कुरा देखिएको छ । त्यस्तै गरी उहाँहरु चाहिँ ‘मोर एडप्टेबल’ हुनुहुन्छ । सञ्चार शैलीमा पनि महिलाहरू अब्बल हुनुहुन्छ ।

अध्ययनको क्रममा फोकल ग्रुप डिस्कसन गर्दा यी तीन, चार वटा स्किलहरूको उहाहरुले खुलेरै प्रशंसा गर्नु भएको थियो । यी भनेको अब आइटी क्षेत्रमा चाहिने सीपहरू हुन् । भनेपछि टेक्निकलसँगै सफ्ट स्किलको पनि समिश्रण हुँदा आईटी कम्पनीहरूलाई अझै अगाडि बढाउन सकिन्छ । 

माथिल्लो नेतृत्वमा जोड

आईटीमा महिलाको नेतृत्व बढाउन अलिकति ‘खुला माइन्डसेट’ चाहिन्छ । नेतृत्वमा पुरूष नै ल्याउने एउटा अनकन्सियस बायस पनि छ । मध्यम स्तरसम्म महिला नेतृत्वमा आएपछि ‘सी’ पोजिसनहरूमा खासै देख्दैनौं ।

माथिल्लो पोजिसनमा ल्याउनलाई प्रोत्साहन नगर्ने मानसिकता पनि छ । त्यसलाई हटाउँदै जानुपर्छ । अहिले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा महिला हुनुहुन्छ । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नै महिलाले हाँक्नु भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव पनि महिला हुनुहुन्छ । भनेपछि महिलाहरू माथिल्लो नेतृत्वमा गएर काम गर्न सक्नुहुन्छ । अवसर दिनुपर्छ । 

एउटा महिलाको लागि आईटी क्षेत्र फेभरेबल छ भन्ने सन्देश महिलाहरूलाई मात्रै नभएर आईटी क्षेत्रमै पुर्‍याउन जरूरी छ । त्यसले अझै प्रोत्साहन मिल्छ । पछिल्लो समय ‘युवा पुस्ता’ उद्यमशीलता केन्द्रित भइरहनु भएको छ । यसमा युवा महिलाहरूलाई अझै प्रोत्साहन गर्नुपर्छ ।

(डिजिटल ल्यान्डस्केप विज्ञ डा. अमृता शर्मासँग गरिएको कुराकानीमा आधारित)