वर्डप्रेस समुदायको विश्वव्यापी पहिचान बोकेको महत्वपूर्ण कार्यक्रम वर्डक्याम्प नेपाल २०२६ आगामी जनवरी २३ र २४, २०२६ मा बुटवलको मणिग्राम विश्राम बाटिकामा आयोजना हुने भएको छ।
काठमाडौंमा मात्र केन्द्रित कार्यक्रमहरूलाई विकेन्द्रीकरण गर्दै देशका अन्य भागहरूमा पनि वर्डप्रेससम्बन्धी ज्ञान, सीप र अवसर विस्तार गर्ने उद्देश्यका साथ यस वर्ष बुटवललाई आयोजना स्थलका रूपमा छनोट गरिएको आयोजकले जनाएको छ। प्रविधि र व्यापारको केन्द्रका रूपमा उदाउँदै गरेको लुम्बिनी प्रदेशका लागि यस कार्यक्रमलाई महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
नेपालको बढ्दो डिजिटल अर्थतन्त्रमा वेबसाइट निर्माण, सामग्री व्यवस्थापन र ई–कमर्स समाधानमा वर्डप्रेसले खेल्दै आएको भूमिकालाई थप सुदृढ बनाउने अपेक्षा वर्डक्याम्प नेपाल २०२६ बाट गरिएको छ।
विगतका सफल संस्करणहरूको विरासतलाई निरन्तरता दिँदै यस सम्मेलनले सहभागीहरूलाई सिक्ने, अनुभव साट्ने, नेटवर्क विस्तार गर्ने र समुदाय निर्माण गर्ने साझा प्लेटफर्म प्रदान गर्नेछ। भैरहवा र लुम्बिनी जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको नजिक रहेको बुटवलको छनोटले तराई क्षेत्रसँगै देशका विभिन्न भागबाट सहभागीहरूलाई आकर्षित गर्ने विश्वास आयोजकको छ।
कार्यक्रमको पहिलो दिन जनवरी २३ मा कन्ट्रिब्युटर डे आयोजना हुनेछ, जहाँ सहभागीहरूले विभिन्न टिम र समूहमा आबद्ध भई वर्डप्रेस प्रोजेक्टमा प्रत्यक्ष योगदान गर्न सक्नेछन्। दोस्रो दिन जनवरी २४ मा मुख्य सम्मेलन आयोजना हुनेछ, जसमा विशेषज्ञ वक्ताहरूका प्रस्तुति, प्यानल छलफल र व्यवहारिक कार्यशालाहरू सञ्चालन हुनेछन्। यस अवसरमा वर्डप्रेसका नयाँ प्रवृत्ति, उत्कृष्ट अभ्यास र नवीनतम प्रविधिबारे जानकारी लिन सकिनेछ।
वर्डक्याम्प नेपाल २०२६ ले नेपालभरिका वर्डप्रेस प्रेमी, डेभलपर, डिजाइनर, कन्टेन्ट क्रिएटर, सर्च इन्जिन विशेषज्ञ, व्यवसाय सञ्चालक र विद्यार्थीहरूलाई एकै स्थानमा ल्याउने लक्ष्य राखेको छ।
वर्डप्रेससँग सम्बन्धित नयाँ ज्ञान हासिल गर्न, नेटवर्क निर्माण गर्न, करियर तथा व्यवसायका नयाँ अवसर खोज्न र वर्डप्रेस इकोसिस्टममा भइरहेका गतिविधिबारे बुझ्न इच्छुक सबैका लागि यो कार्यक्रम महत्वपूर्ण मानिएको छ। कार्यक्रममा सहभागिताका लागि अनलाइन दर्ता खुला भइसकेको छ भने थप जानकारी वर्डक्याम्प नेपालको आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ।
आईसीटी समाचार