हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइन्छ । यस दिनको उद्देश्य मानिसहरूलाई वातावरण जोगाउन सचेत गराउनु हो । यो दिनले हामीलाई सम्झाउँछ कि हामी जति नै प्रविधिसँग जोडिएको किन नहोस्, साना–साना परिवर्तनहरू गरेर पनि प्रकृतिको सहयोग गर्न सक्छौं ।
सन् २०२५ को वातावरण दिवसको थिम ‘प्लास्टिक प्रदूषण अन्त्य गरौं’ राखिएको छ । यो थिम त्यस कारण चयन गरिएको हो किनकि प्लास्टिक प्रदूषण आज विश्वकै ठूला वातावरणीय समस्यामध्ये एक बनेको छ ।
तर यदि हामी दैनिक जीवनमा मोबाइल, कम्प्युटरजस्ता प्रविधिको सही र समझदारीपूर्ण प्रयोग ग¥यौं भने वातावरणलाई हानी पुग्नबाट जोगाउन सक्छौं ।
यसै सन्दर्भमा आज हामी तपाईंलाई केही सजिला उपायहरू बताउँदैछौं जसबाट तपाईं प्रविधिको प्रयोग गर्दै पनि वातावरणको रक्षा गर्न सक्नुहुन्छ । आउनुहोस्, यसबारे जानौं...
पुराना ग्याजेटहरू पुनः प्रयोग गर्नुहोस्
हालका वर्षहरूमा इलेक्ट्रोनिक फोहोर तीव्र गतिमा बढिरहेको छ । यसको समाधानको एक उपाय भनेको पुराना ग्याजेटहरूलाई पुनः प्रयोग गर्नु हो । जस्तै, पुरानो फोनलाई तपाईं सुरक्षा क्यामेरा, टिभी रिमोट, बेबी मोनिटर वा स्मार्ट होम हबको रूपमा प्रयोग गर्न सक्नुहुन् छ ।
त्यस्तै, ठूलो स्क्रिन भएको ट्याब्लेटलाई डिजिटल फोटो फ्रेमको रूपमा पनि प्रयोग गर्न सकिन्छ । पुरानो टिभीलाई सीसीटीभी क्यामेरा मोनिटरिङ प्रणालीका रूपमा उपयोग गर्न सकिन्छ ।
पुराना ग्याजेटहरू दान गर्नुहोस्
यदि सम्भव छ भने आफ्नो पुराना ग्याजेटहरू — जस्तै ल्यापटप, मोनिटर आदिलाई ती व्यक्तिहरूलाई दान गर्नुहोस् जसलाई त्यसको आवश्यकता छ ।
यसले उनीहरूलाई सहयोग त गर्छ नै, साथसाथै इलेक्ट्रोनिक फोहोर घटाउन पनि धेरै मद्दत हुन्छ ।
कागजको सट्टा डिजिटल बन्नुहोस्
कोभिड–१९ महामारीपछि डिजिटल समाधानहरूको प्रयोग बढेको छ । नोट लेख्न वा रिमाइन्डर राख्न डिजिटल लेख्ने प्याड वा स्मार्टफोनको नोट्स एप्सको प्रयोग हुन थालेको छ ।
यसले कागजको प्रयोगमा उल्लेखनीय कमी ल्याएको छ ।
यदि तपाईं अझै पनि कागजमै लेखिरहनुभएको छ भने, अब वातावरणको हितका लागि केही डिजिटल बन्ने समय आएको छ ।
वातावरणमैत्री कुलेन्ट भएका एसी प्रयोग गर्नुहोस्
एसी र फ्रिजहरूले प्रायः ओजोनमैत्री कुलेन्ट प्रयोग गर्छन् । यी उपकरणहरू किन्दा आर ३२ कुलेन्ट भएका एसी र आर६००ए कुलेन्ट भएका फ्रिजहरू रोज्नुहोस्, किनभने यी सीएफसी र एचएफसी मुक्त हुन्छन् ।
विद्युत् बचत गर्न र वातावरणमा पर्ने प्रभाव कम गर्न कम्तीमा ४–स्टार वा ५–स्टार रेटिङ भएका उपकरणहरू खरिद गर्नुहोस् । उच्च रेटिङ भएका उपकरणहरूले तपाईंको बिजुलीको बिल पनि घटाउँछन् ।
प्रत्येक डिभाइससँग नयाँ चार्जर नकिन्नुहोस्
आजभोलि लगभग सबै स्मार्टफोन, ट्याब्लेट, ल्यापटप र स्मार्टवाचहरूले यूएसबी–सी बेस्ड चार्जिङ सपोर्ट गर्छन् ।
यसको अर्थ एउटै अड्याप्टर र केबलले धेरै डिभाइस चार्ज गर्न सकिन्छ । यदि तपाईंको नयाँ फोन चार्जरबिना आउँछ भने, पुरानो डिभाइसको चार्जर प्रयोग गर्नुहोस् । प्रत्येक नयाँ डिभाइससँग नयाँ चार्जर अनिवार्य छैन ।