नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना चर्चित क्रिकेट खेलाडीहरूलाई आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यो भव्य घोषणा गरिएको हो।
नयाँ ब्राण्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी रहेका छन्। यी खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तिकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा संगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
सम्झौता कार्यक्रम २५ अप्रिल २०२५ मा वर्ल्डलिंकको प्रधान कार्यालय, जावलाखेलमा एक भव्य समारोहबीच सम्पन्न भएको थियो । सम्झौतामा वर्ल्डलिंकको तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए ।
नेपालमा पहिलोपटक एउटै कम्पनीले एकै साथ ६ जना ब्राण्ड एम्बेसडरहरू अनुबन्धन गर्ने ऐतिहासिक कार्य वर्ल्डलिंकले गरेको छ, जसले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाएको छ ।
समारोहमा मनोज अग्रवालले यी ६ जना क्रिकेट खेलाडीहरू प्रतिबद्धता, धैर्य, टीमवर्क र अदम्य राष्ट्रिय भावनाका प्रतीक भएको बताउँदै उनीहरूलाई वर्ल्डलिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गर्वित भएको बताए ।
यस्तै सीईओ केशव नेपालले गत वर्ष ‘बीट द स्पीड’ अभियान सुरु गरेर नेपालभित्र लुकेका तीव्र गतिका बलरहरूलाई खोज्ने प्रयत्न गरेको जानकारी दिए । यसको दोस्रो सिजन चाँडै नै आउने उनको भनाइ छ ।
छ जना खेलाडीहरूले पनि आफ्नो खुशी र उत्साह व्यक्त गर्दै, नेपालकै सबैभन्दा ठूलो आईएसपी वर्ल्डलिंकले आफूहरूलाई विश्वास गरेर अनुबन्ध गरेकोमा गर्व महसुस भएको बताए ।
उनीहरूले वर्ल्डलिंकको नवीनता, विश्वसनीयता र सामाजिक प्रतिबद्धतामा विश्वास गर्दै सहकार्यमार्फत दुवै पक्षका लक्ष्यहरू पूरा गर्न सँगै अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।