विश्वको सबैभन्दा ठूलो डिजिटल क्यामेरा सार्वजनिक भएको छ । यसलाई वेरा सी रुबिन अब्जरभेटरीमा स्थापना गरिएको छ । यस प्रकारको डिजिटल क्यामेरालाई लार्ज सिनअप्टिक सर्वे टेलीस्कोप (एलएसएसटी) क्यामेरा पनि भनिन्छ ।
यो अहिलेसम्मकै सबैभन्दा ठूलो डिजिटल इमेजिङ उपकरण हो, जसले आउने दशकभर दक्षिणी गोलार्धको रातको आकाशको विस्तृत अवलोकन गर्नेछ । यसलाई सिमोनयी सर्वे टेलीस्कोपमा सफलतापूर्वक जडान गरिएको छ र अब अन्तिम परीक्षण चरण सुरु हुन लागेको छ ।
त्यसपछि अब्जरभेटरी सन् २०२५ देखि पूर्ण रूपमा सञ्चालनमा आउनेछ । यो टेलिस्कोप अमेरिकी राष्ट्रिय विज्ञान फाउण्डेशन (एनएसएफ) र ऊर्जा विभाग (डिओई) को संयुक्त आर्थिक सहयोगमा निर्माण गरिएको हो, जसको उद्देश्य ब्रह्माण्डको अभूतपूर्व टाइम–ल्याप्स रेकर्ड तयार गर्नु हो ।
एनएसएफ–डिओई वेरा सी. रुबिन अब्जरभेरटरीका अनुसार, एलएसएसटी क्यामेराले केही रातको अन्तरालमा पूरै आकाशको व्यवस्थित रूपमा सर्वेक्षण गर्नेछ र अभूतपूर्व स्तरको उच्च–रिजोल्युसन छविहरू प्रदान गर्नेछ ।
अब्जरभेटरीको आधिकारिक बयानर अनुसार, यसको एउटा फोटो नै यति विस्तृत हुनेछ कि त्यसलाई प्रदर्शन गर्नका लागि ४०० वटा अल्ट्रा–एचडी टेलिभिजन स्क्रिनहरू आवश्यक पर्छ । यस क्षमताका साथ, यो क्यामेरा सुपरनोभा, क्षुद्रग्रह (एस्टेरोइड) र द्रुतगामी तारा (पल्सेटिङ स्टार) जस्ता खगोलीय घटनाहरूलाई कैद गर्न सक्षम हुनेछ, जसले ब्रह्माण्डीय घटनाहरूको बुझाइलाई नयाँ दिशा दिनेछ ।
वेरा सी. रुबिन अब्जरभेटरीको नाम प्रसिद्ध खगोलशास्त्री वेरा रुबिनको सम्मानमा राखिएको हो । उनले आफ्नो सहकर्मी केन्ट फोर्डसँग मिलेर अनुसन्धान गर्दा पत्ता लगाए कि आकाशगङ्गाहरू गुरुत्वाकर्षण नियमअनुसार अपेक्षित गतिमा घुमिरहेका छैनन् । यस अनुसन्धानबाट निष्कर्ष निकालियो कि कुनै अदृश्य पदार्थ (डार्क म्याटर) ले यी आकाशगङ्गाहरूको गति प्रभावित गरिरहेको छ ।
अब्जरभेटरीको उन्नत अप्टिकल र डेटा–प्रोसेसिङ प्रविधिहरूले यो रहस्य झन् गहिराइमा अध्ययन गर्न मद्दत गर्नेछ र डार्क इनर्जीका प्रभावहरू मापन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।