कीवर्डहरू -

प्यारोडी अकाउन्टका लागि एक्सले थाल्यो प्रोफाइल लेबल

प्यारोडी अकाउन्टका लागि एक्सले थाल्यो प्रोफाइल लेबल

एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्सले प्यारोडी अकाउन्टका लागि प्रोफाइल लेबल लागू गर्न सुरू गरेको छ ।

यसअघि प्रयोगकर्ताहरू प्यारोडी अकाउन्टबाट हुने पोस्टहरूलाई वास्तविक व्यक्तिहरू वा संस्थाहरूको आधिकारिक बयान ठानेर भ्रममा पर्ने गरेका थिए । 

अब भने कुनै पनि पोष्ट वास्तविक अकाउन्टबाट गरिएको हो वा प्यारोडी अकाउन्टबाट गरिएको हो थाहा पाइने छ । लेबल अकाउन्ट र पोस्ट दुबैमा देखिने छ ।

‘हामी प्यारोडी अकाउन्टहरूलाई स्पष्ट रूपमा छुट्याउनका लागि प्रोफाइल लेबलहरू लागू गर्दैछौं । पारदर्शिता बढाउन र प्रयोगकर्ताहरूलाई यस्ता खाताहरू सम्बन्धित व्यक्ति वा संस्थाका हुन् भनेर भ्रममा पर्न नदिन डिजाइन गरिएको हो,’ एक्सको सुरक्षा अकाउन्टबाट गरिएको पोस्टमा भनिएको छ ।

गत नोभेम्बरमा, केही एप रिभर्स इन्जिनियरहरूले एक्सले यस्ता लेबलहरू लागू गर्न योजना बनाइरहेको संकेत गरेका थिए । हालका लागि, खाताहरूले आफैं यी लेबलहरू लागू गर्नुपर्नेछ।

यसका लागि, सुरूमा सेटिङ्स एण्ड प्राइभेसीमा जाने ‘योर अकाउन्टमा’ क्लिक गर्ने र अकाउन्ट इन्फर्मेसनमा जाने । अनि ‘प्यारोडी, कमेन्ट्री र फ्यान अकाउन्टमा’ क्लिक गर्नुपर्नेछ ।
प्यारोडी खाताका लागि लेबल कहिलेदेखि अनिवार्य हुने बारे जानकारी छिट्टै दिने एक्सले जानकारी दिएको छ ।