नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने डिजिटल वालेटमार्फत रकम जम्मा गर्ने सीमामा अस्थायी रूपमा वृद्धि गरेको छ।
भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनअनुसार जारी गर्दै राष्ट्र बैंकले अब दिनमा ४० पटकसम्म कारोबार गर्न सकिने व्यवस्था गरेको हो ।
यसअघि हालसम्म प्राकृतिक व्यक्तिले आफ्नो वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न पाउने व्यवस्था रहेको थियो । तर, आगामी बडा दशैं, तिहार (दिपावली) र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले उक्त सीमा अस्थायी रूपमा ४० पटकसम्म बढाउने निर्णय गरेको हो ।
असोज १३ गतेदेखि २१ गतेसम्म (दशैं अवधिमा) र कात्तिक ३ गतेदेखि १० गतेसम्म (तिहार तथा छठ पर्व अवधिमा) वालेट प्रयोगकर्ताले दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सक्नेछन् ।
राष्ट्र बैंकले यस अवधिमा भएका कारोबारको संख्या र कारोबारको कुल रकम सम्बन्धित सेवा प्रदायकहरूले विभागमा जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ। यस निर्णयले पर्वको समयमा बढी हुने कारोबारलाई सहज र प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।