साइबर प्रविधिमा आधारित शंकास्पद वित्तीय कारोबारमा १९ देखि २४ वर्ष उमेर समूहका युवाहरू बढी देखिएका छन् । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी ईकाईले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साइबर प्रविधिमा आधारित ठगीमा युवाहरूको संलग्नता बढी देखिएको हो ।
सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका ‘साइबर इनेबल फ्रड’ सम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत रूपमा विश्लेषण गर्दा शंकास्पद कारोबारमा १८-२४ वर्ष उमेर समूहका व्यक्ति र पेसामा ‘विद्यार्थी’ उल्लेख गरेका व्यक्तिहरू सबैभन्दा बढी संलग्न रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसपछिको दोस्रो नम्बरमा २५ देखि ३० वर्षमा उमेर समूहका व्यक्तिहरू त्यस्तो कारोबारमा संलह्न रहेका छन् । शंकास्पद कारोबारमा संलग्न ७० प्रतिशत व्यक्तिहरू १९ देखि ३० वर्ष उमेर समूहका छन् । १९ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शंकास्पद कारोबारमा संलग्न रहेको देखिएको छ ।
यसैगरी, शंकास्पद कारोबारमा जोडिएका करिब आधा खाता तीन महिनाभित्र खोलिएको पाइएको छ । यस बाहेक रिपोर्ट गरिएका तीन चौथाई खाता गत ९ महिनाभित्र खोलिएका छन् ।
साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा गिफ्ट/पार्सल फ्रड, फेक अनलाइन बिजनेस प्लेटफर्म, सामाजिक सञ्जालमा अरू जस्तै बन्न खोज्नु, ओटीपी फ्रड, लट्री फ्रड, वालेट, बैंक लगायतका तरिकाको प्रयोग भएको पाइएको छ ।
साइबर प्रविधिमा आधारित ठगी न्यूनीकरण गर्न सूचक संस्था, कानुन कार्यान्वयन गर्ने निकाय, अनुसन्धानकारी निकाय र नियामक तथा सुपरिवेक्षकीय निकायलाई आवश्यक सुझावहरू सिफारिस गरिएको छ ।
बायोमेट्रिकसहितको केवाईसी लागु गर्न सुझाव
डिजिटल बैंकिङ प्रडक्ट प्रयोगका लागि बायोमेट्रिकसहितको केवाईसी लागु गर्नुपर्ने, बैंक तथा वालेटमा प्रयोग भएको मोबाइल नम्बर सम्बन्धित व्यक्तिको नाममा वा नजिकका परिवारको नाममा दर्ता भएको वा नभएको चेक गर्नुपर्ने मल्टिफ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नुपर्ने, नयाँ खाताबाट कारोबार गर्न कुलिङ पिरियड लागु गर्नुपर्ने सुझाव दिइएको छ ।
यस बाहेक जनचेतना बढाउनुपर्ने, द्रुत ट्रेसिङ र सूचना आदानप्रदानको सुविधा विकास गर्नुपर्ने, वालेट र कार्ड इन्स्योरेन्स ल्याउनुपर्ने लगायतको सुझाव दिइएको छ ।