लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म यूट्युबले युवाहरूका लागि सुरक्षित, उमेरअनुकूल र गुणस्तरीय सामग्री सुनिश्चित गर्न ‘युथ डिजिटल वेलबिइङ’ नामक नयाँ कार्यक्रम घोषणा गरेको छ ।
यूट्युबका अनुसार, यस पहलमार्फत उच्च–गुणस्तरको डिजिटल सामग्री उत्पादन तथा प्रवद्र्धन गरिनेछ, जसले युवाहरूलाई सुरक्षित डिजिटल अनुभव प्रदान गर्नेछ । यूट्युबले उद्योग जगतका विशेषज्ञहरूसँग सहकार्य गरी यो कार्यक्रम अघि बढाएको हो ।
यूट्युबले हालै आफ्नो ब्लग पोस्टमा लेखेको छ, 'हामी युवा प्रयोगकर्ताहरूका लागि अनलाइन सामग्रीको अनुभवलाई अझ राम्रो बनाउन प्रतिबद्ध छौँ । हाम्रो लक्ष्य मात्र स्वस्थ र गुणस्तरीय सामग्री प्रवद्र्धन गर्नु होइन, कम गुणस्तरको सामग्रीको पहुँच सीमित गर्नु पनि हो ।'
यूट्युबका सीईओ नील मोहनले युट्युबको प्राथमिकतमा युवाहरूको भलाइ सर्वोच्च रहेको बताउँदै युथ डिजिटल वेलबिइङ पहल दीर्घकालीन प्रतिबद्धताको हिस्सा भएको जानकारी दिए ।
उनका अनुसार, युट्युब किड्स र सुपरभाइज्ड एक्सपेरियेन्स जस्ता सुविधासँगै, यूट्युबले अमेरिकन साइकोलोजिकल एसोसिएसन (एपिए) को सहयोगमा अभिभावकहरूका लागि स्क्रिन टाइम व्यवस्थापन गाइड पनि उपलब्ध गराएको छ ।
यूट्युबले यो पहलअन्तर्गत युवाहरूलाई सुरक्षित र उमेरअनुकूल डिजिटल अनुभव प्रदान गर्नेछ:
- सामग्री तथा उत्पादन डिजाइन किशोर र बालबालिकाको मानसिक तथा शारीरिक विकासलाई ध्यानमा राखी तयार गरिने ।
- उमेरअनुसारको डिफल्ट सेटिङ – हिंसात्मक वा यौनजन्य सामग्रीमा स्वचालित रूपमा सुरक्षित सेटिङ लागू गरिने ।
- मिडिया साक्षरता र डिजिटल नागरिकता प्रवर्द्धन – अभिभावक तथा परिवारका लागि अनुसन्धान–आधारित स्रोतहरू उपलब्ध गराइने ।
- गुणस्तरीय प्रेरणादायी सामग्री प्रवद्र्धन – शिक्षाप्रद, प्रेरणादायी र उच्च–गुणस्तरको सामग्रीलाई प्राथमिकता दिइने ।
- स्क्रिन टाइम व्यवस्थापन उपकरणहरू – लामो समयसम्म अनलाइन रहने समस्यालाई सम्बोधन गर्न विशेष उपकरणहरू उपलब्ध गराइने ।
- मानसिक स्वास्थ्यसम्बन्धी संवेदनशील विषयहरू – आत्महत्या वा आत्म–हानि जस्ता विषयहरू खोज्दा सहायता स्रोतहरू उपलब्ध गराइने ।
यस पहललाई सफल बनाउन यूट्युबले चुचु टिभी, खान एकेडेमी, मूनबग, द पिंकफङ कम्पनी, वाइल्डब्रेन, मिराक्युलस कर्प, टीभी कुल्चरा, र द विगल्स जस्ता विश्वप्रसिद्ध सामग्री निर्माता संस्थाहरूसँग साझेदारी गरेको छ ।
यूट्युबको नयाँ कदमले युवाहरूको डिजिटल सुरक्षालाई सशक्त बनाउने अपेक्षा गरिएको छ ।