कीवर्डहरू -

जेडटिई रेड म्याजिक ११ प्रो नेपाली बजारमा सार्वजनिक, गेमिङ्गका लागि नयाँ विकल्प

जेडटिई रेड म्याजिक ११ प्रो नेपाली बजारमा सार्वजनिक, गेमिङ्गका लागि नयाँ विकल्प

ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो प्रतिष्ठित गेमिङ्ग स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यो स्मार्टफोन अहिलेसम्मकै हाइएस्ट रेटेड गेमिङ्ग फोनको रूपमा चिनिएको छ।

नेपालको तीव्र गतिमा बढिरहेको मोबाइल गेमिङ्ग बजारलाई ध्यानमा राख्दै डिजाइन गरिएको यो फोनले उत्कृष्ट प्रदर्शन, इमर्सिभ डिस्प्ले र दीर्घकालीन ब्याट्री क्षमता प्रदान गर्दछ। रेड म्याजिक ब्रान्ड नेपालमा पहिलो पटक औपचारिक रूपमा प्रवेश गरेको हो।

रेड म्याजिक ११ प्रोमा स्न्यापड्रागन ८ एलीट जेन ५ प्रोसेसर, १६ जिबी र्याम र ५१२ जिबी स्टोरेज रहेको छ, जसले भारी गेमिङ्ग र मल्टिटास्किङमा पनि सहजता प्रदान गर्दछ।

फोनको ६.८५ इन्च एमोलेड डिस्प्ले मा १४४ हर्ट्जको रिफ्रेस रेट दिइएको छ, जसले तीव्र गतिका गेमहरूमा पनि स्मूथ भिजुअल अनुभव दिन्छ। यसमा ९५.३% स्क्रिन-टु-बडी रेसियो, थ्रीडी अल्ट्रा सोनीक इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र आइपी ६८ वाटर रेसिस्टेन्स जस्ता सुविधाहरू रहेका छन्।

८० वाटको अल्ट्रा-फास्ट चार्जिङसहितको ७५०० एमएएचको ब्याट्रीले लामो समयसम्म गेमिङ्ग र स्ट्रिमिङको अनुभव दिन्छ। त्यस्तै, एडभान्स्ड कूलिङ आर्किटेक्चर र १३११६ mm² भेपर च्याम्बरले फोन तातिने समस्यालाई नियन्त्रण गर्दै निर्बाध गेमिङ्गको सुनिश्चितता गरेको छ।

क्यामरा सेटअपमा ५० मेगापिक्सेलको मेन सेन्सर, ५० मेगापिक्सेलको अल्ट्रा-वाइड लेन्स र २ मेगापिक्सेलको अक्जिलरी सेन्सर सहितको ट्रिपल रियर क्यामेरा रहेको छ भने १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा सेल्फी र भिडियो कलका लागि उपयुक्त छ। ब्लुटुथ ५.४ सपोर्टले कनेक्टिभिटीलाई थप सुदृढ बनाएको छ।

लन्च कार्यक्रममा जेडटिई नेपालका प्रमुख कार्यकारी अधिकृत सबिन श्रेष्ठले भने, “नेपालमा रेड म्याजिक सिरिजको आगमन हाम्रो विश्वव्यापी गेमिङ्ग रणनीतिमा महत्वपूर्ण कदम हो। रेड म्याजिक ११ प्रोले उच्च प्रदर्शन र एड्भान्स टेक्नोलोजी खोज्ने नेपाली गेमरहरूमा सशक्त प्रभाव पार्नेछ।”

त्यस्तै, शंकर ग्रुप एवम् जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जटियाले भने, “हाई पर्फर्मेन्स युक्त गेमिङ्ग स्मार्टफोनको माग निरन्तर बढ्दै गइरहेको अवस्थामा रेड म्याजिक ११ प्रोले नेपाली गेमरहरूको अपेक्षा पूरा गर्नेछ।”

१६ जिबी र्याम र ५१२ जिबी स्टोरेज भएको रेड म्याजिक ११ प्रोको मूल्य रु १,६४,९९९ रहेको छ। यो नेपालभर शंकर ग्रुप र जगदम्बा मोबाइल्समार्फत उपलब्ध हुनेछ।

ग्राहकहरूले शून्य प्रतिशत किस्ता योजनामा पनि यो फोन खरिद गर्न सक्नेछन्। लन्च अफरअन्तर्गत अग्रिम बुकिङ गर्ने ग्राहकहरूले रु ५,००० क्यास ब्याक र रु २०,००० बराबरको रेड म्याजिक गेमिङ्ग कन्सोल निःशुल्क प्राप्त गर्न सक्नेछन्।