कीवर्डहरू -

जुकरबर्गको दाबी : पाँच वर्षमै एआई बन्नेछ सबैको व्यक्तिगत सहायक

जुकरबर्गको दाबी : पाँच वर्षमै एआई बन्नेछ सबैको व्यक्तिगत सहायक

काठमाडौं । आगामी केही वर्षभित्र कृत्रिम बौद्धिकता (एआई) व्यक्तिगत सहायकका रूपमा आम मानिसको दैनिक जीवनको अभिन्न हिस्सा बन्ने जुकरबर्ग दाबी गरेका छन् । सामाजिक सञ्जाल कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले पाँच वर्षभित्र विश्वभरका अर्बौँ प्रयोगकर्ताले आफ्नै ‘पर्सनल एआई एजेन्ट’ प्रयोग गर्ने अवस्था आउने बताएका हुन् ।

मेटाको त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेपछि लगानीकर्तासँगको छलफलका क्रममा उनले भविष्यमा एआई केवल प्रश्नको उत्तर दिने उपकरणमा सीमित नरही प्रयोगकर्ताको आवश्यकता, प्राथमिकता र दीर्घकालीन लक्ष्य बुझेर स्वत: काम गर्ने डिजिटल सहयोगीका रूपमा विकसित हुने धारणा राखे ।

जुकरबर्गका अनुसार यस्तो एआई एजेन्टले व्यक्तिगत आर्थिक योजना बनाउने, स्वास्थ्यसम्बन्धी जानकारी उपलब्ध गराउने, तालिका व्यवस्थापन गर्ने, पारिवारिक तथा सामाजिक गतिविधि समन्वय गर्ने र दैनिक प्रशासनिक काममा सहयोग पुर्‍याउने जस्ता कार्य गर्न सक्नेछ । प्रयोगकर्ताको रुचि र व्यवहारका आधारमा यी एआई प्रणालीले आवश्यक निर्णयमा समेत सहजीकरण गर्ने उनको भनाइ छ ।

उनले भविष्यमा मानिसहरूले एकै समयमा धेरै एआई एजेन्टसँग संवाद गर्ने भएकाले मेसेजिङ प्लेटफर्महरूको भूमिका झनै महत्वपूर्ण हुने बताए । हाल मेटाको एआई सेवासँग सबैभन्दा बढी अन्तरक्रिया हुने प्लेटफर्म व्हाट्सएप रहेको उल्लेख गर्दै उनले आगामी दिनमा यस्ता सेवाको प्रयोग उल्लेख्य रूपमा विस्तार हुने विश्वास व्यक्त गरे ।

व्यक्तिगत एआई प्रणालीको विकासमा मेटा मात्र होइन, अन्य प्रविधि कम्पनीहरू पनि तीव्र प्रतिस्पर्धामा छन् । गुगलले आफ्नो खोज (सर्च) सेवामा एआई आधारित व्यक्तिगत सहायकलाई प्राथमिकताका साथ विकास गरिरहेको छ भने एन्थ्रोपिकले विकास गरेको ‘क्लाउडे कोड’ सफ्टवेयर विकासकर्तामाझ लोकप्रिय बन्दै गएको छ ।

प्रविधि कम्पनीहरूबीच बढ्दो प्रतिस्पर्धाले आगामी वर्षहरूमा एआईलाई अझ बढी व्यक्तिगत, स्वचालित र दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको प्रविधिका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।