स्पेक्ट्रलाइट यूके लिमिटेडले नेपालमा रहेका करोडौ ग्राहकलाई परिस्कृत सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताएको छ । आजियाटा ग्रुपबाट एनसेलको ८० प्रतिशत शेयर खरिद गर्ने सम्झौता गरेपछि स्पेक्ट्रलाइट यूके लिमिटेडका लगानीकर्ता शतिशलाल आचार्यले एनसेलका ग्राहकलाई परिस्कृत सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
‘एनसेलको सेयर होल्डिङको लागि यो सम्झौताको घोषणा गर्न पाएकोमा स्पेक्ट्रलाइट निकै खुसी छ,’ उनी भन्छन्, ‘दूरसञ्चार क्षेत्रको मेरो वृहद् अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौ ग्राहकलाई विभिन्न परिस्कृत सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं ।’
स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य हुन् । उनी सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी हुन् । शुक्रबार मात्रै आजियाटा ग्रुपको एनसेलमा रहेको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट यूकेले खरिद गर्ने सम्झौता गरेको थियो ।
यो पनि पढ्नुहोस
सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभीसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व लिनेछ । एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्डस् होल्डिङ्सँग रहेको छ ।
स्पेक्ट्रलाइट एनसेलका सेवाहरूको दायरा विस्तार गर्दै गुणस्तर अभिवृद्धि गर्न र डिजिटल आविष्कारहरूका साथ एनसेललाई अगाडि बढाउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । यस्तै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेललाई डेटा र सञ्चार पुर्वाधारको एक नेपाली कम्पनीका रुपमा अघि बढाउन तत्पर रहेको बताएका छन् ।