कीवर्डहरू -

साइबर सेक्युरिटीकी डाक्टर प्रनिता, आइटी क्षेत्रमा सफल उद्यमी

साइबर सेक्युरिटीकी डाक्टर प्रनिता, आइटी क्षेत्रमा सफल उद्यमी

दुई दशकअघि प्रनिता उपाध्यायले कम्प्युटर इन्जिनियरिङ गर्दै गर्दा करियर कस्तो होला भन्ने अन्योल थियो । सूचना प्रविधि क्षेत्रको विकास खासै थिएन ।

कम्प्युटर इन्जिनियरिङका विद्यार्थी शिला जस्तै खोज्नु पर्थ्यो । कम्प्युटरको पहुँच खासै थिएन । इन्टरनेट पनि भर्खर विस्तार हुँदै थियो ।

त्यसैमाथि, घरको माहोल चिकित्सा क्षेत्रमा थियो । डाक्टर पढ्नुपर्छ भन्ने दवाव परिवारमा थियो । प्रनिता भने सानैदेखि सृजनशिल र प्रविधि क्षेत्रमा रुची राख्थिन । आफ्नो त्यही भित्री चाहनालाई पछ्याउँदै गर्दा प्रनिता आज सूचना तथा संचार प्रविधिमा चिनिने नाम बनाउन सफल भएकी छन् ।

कम्प्युटर इन्जिनियरिङ पढ्ने महिला नै नभएको अवस्था उनले देखेको सपना पुरा गरेकी छन् । नेपालका थोरै महिलाहरू मात्र आइटी क्षेत्रमा अब्बल छन्, त्यसमध्येमा पर्छिन् प्रनिता उपाध्याय ।

साइबर सेक्युरिटीमा विद्यावारिधी गरेकी प्रनिता विभिन्न संस्थामा जागिर, शैक्षिक संस्थाहरूको नेतृत्व, राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदै आइटी उद्यमी छिन् ।

पछिल्लो समय मेडिसफ्ट नेपाल नामक सफ्टवयर कम्पनी सञ्चालन गरिहेकी डा. प्रनिताले दुई दशकको अवधिमा सूचना तथा संंचार प्रविधि क्षेत्रमा धेरै परिवर्तन देखेकी छन् ।

यस क्षेत्रको दायरा वृद्धि भएको छ, मान्छेका सोँच परिवर्तन हुदै  व्यवसायमा वृद्धि भएको छ । दुई दशकको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको यात्रा कस्तो रहयो त ? हामीले साइबर सेक्युरिटी विज्ञ डा. प्रनितासँग यिनै विषयमा कुरा गरेका छौं ।

करियरको शुरुवात– अस्पतालमा इन्जिनियर

सन् १९७३ मा काठमाडौंमा जन्मेकी प्रनितालाई सानैदेखि प्रविधिमा रुची थियो । नयाँ नयाँ सृजना गर्न खुबै मन पर्थ्यो।आफ्नो रुचीअनुसार काम गर्न एक मात्र उपाय थियो, इन्जिनियर बन्ने ।  स्कुल सकेपछि फिजिक्स र म्याथम्याटिक्स लिएर आइएससी गरिन ।

त्यसपछि भारतको मैङ्लोर विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ गरिन् । पढाइ सकिए लगत्तै भारत मै दुई वर्ष काम गरिन । त्यसपछि उनी नेपालपछि सिधै पूर्वतिर लागिन ।

नेपाल फर्कंदा कम्प्युटर इन्जिनियरिङका विद्यार्थी शिला जस्तै खोज्नु पर्थ्यो । कम्प्युटरको पहुँच खासै थिएन । इन्टरनेट पनि भर्खर बिस्तार हुदै थियो ।

‘अस्पतालमा भिस्याटबाट इन्टरनेट प्रयोग गरिन्थ्यो,’ प्रनिता भन्छिन् ।  त्यो प्राविधिक व्यवस्थापनमा उनले महत्वपूर्ण भूमिका खेलिन ।

सफ्टवेयरमा विशेष रुचि राख्ने प्रनिताले अस्पतालमा आवश्यक सफ्टवेयर डेभलपमेन्ट र त्यसको प्रयोगमा ध्यान दिन थालिन ।

त्यही समयमा इनरुवा, रंगेली र धनकुटामा टेलिमेडिसिन सेवा सञ्चालन गरिन् । सम्भवतः यी अस्पतालहरूमा नेपालमै पहिलोपटक टेलिमेडिसिन सेवा सञ्चालन भएको उनको भनाइ छ ।

धरानमा झन्डै ३ वर्ष काम गरेपछि इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोकबाट पहिलो ब्याचमा मास्टर्स अफ साइन्स इन इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ गरिन ।

मास्टर्स अध्ययन गर्दै गर्दा पूर्वाञ्चल विश्वविद्यालयको आइटी कन्सल्टेन्टको रूपमा काम गर्न सुरु गरिसकेकी थिइन ।त्यहाँ ६ वर्ष काम गरेकी प्रनिताले सन् २००७ मा विराटनगरको इस्टर्न कलेज अफ इन्जिनियरिङमा १ वर्ष प्राचार्य भइन् ।

पछि केही समय स्ट्याक्स नामक आइटी कम्पनीमा प्रोजेक्ट म्यानेजरको रूपमा काम गरिन् । विराटनगरबाट काठमाडौंको यात्रा अझ सफल रयो ।

एड्भान्स कलेज अफ इन्जिनियरिङमा ६ वर्ष काम गर्दा दक्ष इन्जिनियर तथा आइटी जनशक्ति उत्पादनमा उनको भूमिका महत्वपूर्ण रयो ।

सरकारी निकायको नेतृत्व र उपलब्धि

आइटी क्षेत्रमा काम गर्दै अगाडि बढेकी प्रनिताले सन् २०१४ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकको रुपमा काम गर्ने अवसर प्राप्त गरिन ।

चार वर्षको कार्यकालमा उनले ई–गभर्नेन्स सेवाहरू सुचारु गर्दै नेशनल पोर्टलमा समाविष्ट गर्न महत्वपूर्ण योगदान दिइन् । उपाध्यायले नेशनल पेमेन्ट गेटवे मास्टरप्लान बनाउन र कार्यान्वयनमा ल्याउन पहल गरेकी थिइन ।

साथै, कोरिया सरकारको सहयोगमा हेटौंडामा डिजास्टर रिकभरी सेन्टर र एसियाली विकास बैंकको सहकार्यमा जिआइडिसीमा डेटा सुरक्षाको लागि मल्टीलेयर सेक्युरिटी सिस्टम प्रयोगमा ल्याइन् ।

मुलुकमा भर्खर सूचना प्रविधि क्षेत्रको विकास भइरहेको बेला उनले सुरु गरेका काम र नीति निर्माण पहलले डिजिटल नेपाल निर्माणमा जग बसाल्न सहयोग पुगेको थियो ।

उनी नेतृत्वमा रहदा आर्किटेक्चर मोडेलहरू तयार पार्ने, व्यावसायीक दृष्टिकोण र लक्ष्यहरू सिर्जना तथा कार्यान्वयन गर्ने कार्यमा निरन्तर काम गरिन ।

मुलुकमा साइबर सेक्युरिटी महत्वपूर्ण विषय बनिरहेको थियो । त्यही विषयमा डाक्टर बन्ने चाहना थियो । त्यही चाहना पुरा गर्न उनले केन्द्रमा कार्यकारी निर्देशक रहेकै बेला कम्प्युटर इन्जिनियरिङ साइबर सेक्युरिटीमा विद्यावारिधी गरिन ।

सरकारी सेवा हुदै निजी क्षेत्रमा पनि आइटी शिक्षा र सफ्टवेयर विकासमा उनले धेरै काम गरिन ।सन् २०१८ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट बाहिरिएपछि उनी ब्रिटिश कलेजमा आइटी प्रोग्राम लिडर एण्ड रिसर्च कोअर्डिनेटरको रूपमा संलग्न रहिन् ।

सफ्टवेयर कम्पनी र उद्यमशीलताको यात्रा

प्राध्यापनका काम जारी नै छ । त्यस बाहेक अब उनी उद्यमशिलता विकासमा लागि रहेकी छन् । सफ्टवेयर उद्योग संचालन गर्न मेडिसफ्ट नेपाल सञ्चालनमा ल्याएकी छिन् । यसले मुख्यगरी टेलिमेडिकल क्षेत्रमा मेडिसफ्ट नेपालले काम गरिहेको छ ।

मुलुकमा कोरोना भाइरस संक्रमण बढ्दै जाँदा टेलिमेडिसिनको महत्व अझ बढेको छ । दूरदराजका नेपालीलाई स्वास्थ्य उपचार उपलब्ध गराउने उद्देश्यले बेलायतको मेडिसफ्ट नेपालसँगको सहकार्यमा नेपालमा मेडिसफ्ट नेपाल शुरु भएको हो ।

अहिले मनोहरालगायत केही अस्पतालमा यो सेवा सञ्चालनमा छ । ग्रामीण क्षेत्रमा प्रविधिमार्फत सेवा दिने उद्देश्यले उपाध्यायले मेडिसफ्ट नेपाललाई अगाडि बढाइरहेकी छिन् । कम्पनीमार्फत हेल्थकेयरमा एआई प्रविधिहरू प्रयोग गरेर उनले विभिन्न प्रोजेक्टहरू गरिरहेकी छिन् ।

मेडिसफ्टले १५ जनाभन्दा बढीलाई रोजगारी दिइरहेको छ । उपाध्याय व्यावसायिक क्षेत्रसँगै समाजसेवा पनि उत्तिकै क्रियाशील छिन्, आरिकेत मार्फत । पिछडिएका महिला, असहाय, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई सहयोग गर्ने फाउन्डेसनको उद्देश्य छ ।

प्रविधि क्षेत्रमा महिलाको लागि चुनौतीसँगै अवसरहरू धेरै रहेकोले अघि बढ्न सुझाव दिन्छिन् । ‘शिक्षा, जागिर, अवसर र क्षमता वृद्धि  महिलाको लागि महत्वपूर्ण हुन्छ,’ उनी भन्छिन् ।

नेपालको आइटी क्षेत्रलाई विकास गर्न सरकारले डिजिटल नेपालको फ्रेमवर्कलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउँछिन् । अझ यो नयाँ क्षेत्रमा महिलालाई अवसर र सम्भावना राम्रो रहेको उनको बुझाइ छ ।